अर्जुन दासको हत्यामा संलग्नको पहिचान भइसक्यो : प्रहरी
कैलालीको जानकी गाउँपालिकाको एक सामुदायिक वनमा बीभत्स हत्या गरिएका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न भएकाहरुको पहिचान भइसकेको प्रहरीले दाबी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले दासको हत्यामा संलग्न व्यक्तिको पहिचान भइसकेको दाबी गरेका हुन् । उनले पहिचान भएका व्यक्तिको खोजी भइरहेको बताए ।
‘हत्यामा संलग्न भएका व्यक्तिको पहिचान भइसकेको छ,’ डीएसपी जोशीले भने, ‘पहिचान भएका व्यक्तिको खोजी भइरहेको छ । केही समय भित्रै पक्राउ गर्छौं । छिटै नतिजा आउँछ ।’ अर्जनको हत्या गर्नुको कारण भने अहिलेसम्म खुल्न नसकेको उनले बताए ।
कैलाली प्रहरीले घटनामा संलग्न भएको आशंका एक जनालाई पक्राउसमेत गरेको छ । पक्राउ परेका व्यक्तिबाट हत्या प्रकरणबारे खासै केही खुल्न नसकेको डीएसपी जोशीले बताए ।
‘घटनाबारे सोधपुछका लागि एक जनालाई नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘पक्राउ परेका व्यक्तिबाट पनि हत्या प्रकरणबारे केही खुल्न सकेको छैन । हामी थप अनुसन्धानमै छौं ।’ उनका अनुसार घटनामा पाँच जनासम्मको संलग्नता रहेको देखिएको छ ।
हत्यामा आफूहरुको संलग्नता रहेको भन्दै एकजना युवाले मृतकका छिमेकीलाई गरेको फोन संबाद घटना लगत्तै बाहिरिएको थियो । फोन गर्ने व्यक्तिले आफूहरु नेपालगन्जको रुपैडिहा नाकामा भएको र बेङलोर जान लागेको बताएका थिए ।
बीभत्स हत्या गरिएका अर्र्जुनको शव टीकापुर अस्पतालमा राखिएको छ । उनको शव सोमबार तीन दिनपछि घटनास्थलबाट उठाएर पोस्ट मार्टमका लागि टीकापुर अस्पतालमा राखिएको हो । मृतकका आफन्तले भने दोषीलाई पक्राउ गर्नुपर्ने र अन्य माग सम्बोधन हुने प्रतिबद्धता नजनाउँदा शव नबुझ्ने अडान लिएका छन् ।
यस्तै, मृतकका आफन्तले दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन जारी राखेका छन् । उनीहरुले मंगलबार इलाका प्रहरी कार्यालय टीकापुर अगाडि प्रदर्शन गरे । प्रदर्शनकारीले हत्यारालाई सार्वजनिक गर्न र शान्ति सुरक्षाको ग्यारेन्टी गर्न माग राख्दै नाराबाजी गरेका थिए ।
प्रदर्शनपछि उनीहरूले इलाका प्रहरी कार्यालय टीकापुर घेराउ गर्ने, वडा कार्यालयमा तालावन्दी गर्ने, लम्कीमा चक्का जाम गर्नेलगायतका कार्यक्रम पनि घोषणा गरेका छन् । दासको हत्या भएपछि स्थानीयले ललित परियारको संयोजकत्वमा संघर्ष समिति बनाएका छन् ।
गएको शनिबार जिल्लाको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दास सोही ठाउँको अमरावती सामुदायिक वनमा घाँटी रेटेर बीभत्स रुपमा हत्या गरिएको अवस्था फेला परेका थिए । कैलालीमा पछिल्लो समय हत्या हिंसाका घटना बढेका छन् । विशेष गरेर जिल्लाको पूर्वी क्षेत्रमा श्रृंखलाबद्ध हत्याका घटना घट्न थालेका छन् । जसले गर्दा नागरिकमा त्रास फैलिएको छ ।
७ पुस २०७८, बुधवार ०८:५७ बजे प्रकाशित































