ओलीको गुनासो : षड्यन्त्र गरेर एमालेलाई सरकारबाट हटाइयो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई षड्यन्त्र गरेर हटाइएको बताएका छन्। शनिबारदेखि चितवनको सौराहामा सुरू एमालेको दशौँ महाधिवेशन अन्तर्गतको बन्द सत्रलाई सम्बोधनका क्रममा उनले यसो भनेका हुन्।
‘जनादेश नपाएर, जनताको समर्थन अभावमा हामी सरकारबाट हटेको होइन। कार्य क्षमता र असफलताका कारण हटेको होइन’, उनले भने, ‘हामीलाई षडयन्त्रका कारण सरकारबाट हटाइयो। असंवैधानिक र अलोकतान्त्रिक ढंगले हामीलाई हटाए।’
आफूहरु सरकारबाट बाहिरिएपछि देश अस्थिरतातर्फ अघि बढेको पनि उनले बताए। ‘देश अहिले अस्थिरता र अन्योलका बीचबाट गुज्रिएको छ’, उनले भने, ‘परमादेशी सरकार आएपछि लोकतन्त्रका जुइना र नटबल्टु कमजोर बनाइँदैछ। यस्तो खतराबाट एमालेले देशलाई जोगाउनुछ।’
११ मंसिर २०७८, शनिवार १७:५४ बजे प्रकाशित














