दार्चुलाका किसान ओखर खेतीमा आकर्षित
ओ्खर खेतीका लागि दार्चुला उर्वरभूमि हो । यहाँका अधिकांश ठाउँमा ओखरका बोट देख्न पाइन्छ ।कसैले व्यवसायिक रुपमै खेती पनि गरिरहेका छन् ।सरकारले यसै वर्ष दार्चुलालाई ओखर पकेट क्षेत्र घोषणा गरेपछि यहाँका किसानहरु ओखर खेतीतर्फ थप आकर्षित हुँदै गइरहेका पनि छन् ।
विगतदेखिनै ओखर खेती गर्दै आएका दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ पनेबाजका धम्रसिंह धामी पनि ओखर खेतीलाई थप विस्तार गर्दै आएका छन् ।
बुवा, बाजेले लगाएका दुई÷चार बोटबाट खेती सुुरु गरेका धामीको बारीमा अहिले साना ठूलो गरेर डेढ सय ओखरका बोट छन् । एक सय बोट दुई वर्ष यता मात्रै लगाएका हुन् उनले । बारीमा भएका ५० बोटले अहिले उत्पादन दिइरहेका छन् ।
‘दुई वर्षयता मैले एक सय बोट नयाँ बिरुवा समेत रोपेको छु,’ उनले भने, ‘ओखर खेतीबाट राम्रै होला भन्ने आशा छ ।’ उनले आफ्नो उत्पादन दार्चुलाको गोकुलेश्वर र डडेलधुराको स्याउलेसम्म निर्यात गरिरहेका छन् ।
उनी आफूले उत्पादन गरेका र गाउँघरबाट पनि उत्पादित ओखर संकलन गरेर पनि बजारसम्म पुर्याउने काम गरिरहेका छन् । ‘आफ्नो मात्रै ओखर बेचेर वार्षिक २० हजारसम्म आम्दानी हुन्छ,’ उनले भने, ‘गाउँघरको संकलन गरेर बेच्दा वार्षिक ५० हजार भन्दा बढी आम्दानी गरिरहेको छु ।’
ओखरले पछिल्लो समय राम्रो बजार लिइरहेको छ । तर स्थानीय किसानलाई चीनबाट आयात हुने ओखरले मूल्य नपाइने हो कि भन्ने चिन्ता भइरहन्छ ।
सरकारले यस वर्षदेखि दार्चुलालाई ओखर पकेट क्षेत्रका रुपमा समेत घोषणा गरेपछि धामीसहित यहाँका किसान ओखर खेतीतर्फ थप आकर्षित भएका छन् । सामान्य खेती गर्दै आएका किसानहरु पनि खेतीलाई थप वृद्धि गर्दै गइरहेका छन् ।
शैल्यशिखर नगरपालिकाको वडा नम्बर ५, ६, ७ र मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ४ गरेर एक सय घरधुरीले ओखर खेती गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकरण प्रयोजना कार्यान्यन ईकाइ दार्चुलाका कार्यालय प्रमुख विष्णु ओझाले बताए ।
उनले किसानहरुलाई अनुदानमा पनि ओखरका बिरुवा वितरण भइरहेको बताए । ‘किसानहरुलाई ५० प्रतिशत अनुदानमा ओखरको बिरुवा वितरण गर्न भनेर यस वर्ष १७÷१८ लाख रुपैयाँको कार्यक्रम छ,’ प्रमुख ओझाले भने, ‘दुई वर्षमा फल्ने ओखरको जात ल्याउने प्रयासमा छौं ।’
दार्चुलाको नौ वटै स्थानीय तहका किसानहरु ओखर खेतीमा आकर्षित भएको उनले बताए । यस वर्ष दुई वटा पालिकाबाहेक अरु पालिकामा ओखरको माग बढेको उनको भनाइ छ ।‘गतवर्ष २५ सय टर्की ओखरको बिरुवा किसानलाई वितरण गरेका थियौं,’ उनले भने, राम्रै थियो त्यसको प्रतिफल ।’ करिब २१६ वटा कृषक सहकारी समूहबाट यो कार्यक्रम सञ्चालन हुने गरेको उनले बताए ।
उनले दार्चुलाको लोकर ओखर सस्तोमा पाइने गरेको र विदेशी ओखर महंगो हुने गरेको बताए । ‘यस ठाउँको ओखर भन्नेको लोकल ओखर कम मूल्यमा पाईन्छ,’ उनले भने, ‘विदेशी टर्कीको फेम्स जातको ओखर (क्याडुलर) जातको ओखर झण्डै नौ सयको हाराहारीमा पाइने रहेछ ।’ उनले जेम्स जातको ओखरको बेर्ना पनि ल्याइने बताए । त्यसका लागि किसानले ५० प्रतिशत लागत बेहोर्नुपर्ने बताए ।
कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाशकुमार पन्तले दुई÷चार पकेटमा किसानहरुले माग गरे अनुसारको ८५ प्रतिशत अनुदानमा बिरुवा, सिचाँइमा सहुलियत दिने गरेको बताए ।
११ मंसिर २०७८, शनिवार १३:५४ बजे प्रकाशित













