एनपी साउदको क्षेत्रमा रमेश लेखक प्यानल ‘क्लिन स्वीप’
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा सम्पन्न नेपाली कांग्रेसको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा नेता रमेश लेखकको प्यानल ‘क्लिन स्वीप’ भएको छ।
मतपरिणाम अनुसार क्षेत्रीय कार्यसमितिमा नेता एनपी साउदको प्यानलले लेखक प्यानललाई ‘क्लिन स्वीप’ गरेको हो। क्षेत्र नम्बर २ का साउद प्यानलका लालबहादुर सिंह दोब्बरभन्दा बढी मतान्तरले क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्। उनले लेखक प्यानलका उम्मेदवार नवराज जोशीलाई १ सय ८४ मतान्तरले पराजित गरेका छन्।
सिंहले खसेको ५ सय ४ मतमध्ये ३ सय ४१ र जोशीले १ सय ५७ मत पाएका छन्। सचिवमा साउद प्यानलका गणेशबहादुर सिंह ३ सय ५० र थानेश्वरप्रसाद भट्ट ३ सय ३१ मतसहित विजयी भएका छन्।
लेखक प्यानलका उम्मेदवारहरु घनश्याम जोशी र नारायण बोहराले क्रमशः १ सय ३० र १ सय ३१ मत ल्याएका छन्। साउद प्यानलकै काशीराम भाट ३ सय १५ मत र रमेशप्रसाद भट्ट २ सय ७६ मतसहित सहसचिवमा निर्वाचित भएका छन्।
लेखक प्यानलका जयबहादुर ऐरले १ सय ८२ र प्रदीप खड्काले १ सय ५० मत ल्याएका छन्। क्षेत्र नम्बर २ मा लेखक प्यानलका सबै उम्मेदवार पराजित भएका छन्।
७ मंसिर २०७८, मंगलवार १५:३५ बजे प्रकाशित













