काँग्रेस महाधिवेशन : आज प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन

नेपाली काँग्रेसको १४ औँ महाधिवेश अन्तर्गत आज (सोमबार) ६०  जिल्लामा  प्रतिनिधि  सभा निर्वाचन क्षेत्रको अधिवेशन सुरु हुँदैछ ।

६० जिल्लाका १४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन सोमबार सुरु हुन लागेको काँग्रेस केन्द्रीय  निर्वाचन  समितिका संयोजक महादेव यादवले बताए ।

यादवका अनुसार १४ वटा जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ भने सोमबार ६० जिल्लामा अधिवेशन हुन लागेको हो । संयोजक यादवले भने, ‘१४ वटा जिल्लाको प्रतिनिधि सभा क्षेत्रस्तरीय अधिवेशन सम्पन्न भइसकेको छ। बाँकी रहेका १४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा सोमबारबाट अधिवेशन सुरु हुँदैछ।’

सर्लाही, सिन्धुपाल्चोक र रसुवामा भने अधिवेशन प्रक्रिया रोकिएको छ । उक्त जिल्लाको विवाद समाधानका लागि महामन्त्री डा. शशांक कोइराला र सहमहामन्त्री डा. प्रकाशशरण महतबीच छलफल भएको थियो ।

आज प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पनि हुने छ । मंसिर १० गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन हुने छ ।

आज केन्द्रीय महाधिवेशनका मतदाता महाधिवेशन प्रतिनिधि पनि चयन गरिने छ । वडा  अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नेतृत्व र महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान गर्ने छन् ।


६ मंसिर २०७८, सोमवार ०७:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु