बाढीपहिरो पीडितको उद्दार तथा राहतमा जुटन काँग्रेस संसदीय दलको माग
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले बाढी-पहिरो पीडितको उद्दार तथा राहतमा जुटन सरकारलाई आग्रह गरेको छ । आइतबार रातीदेखि परेको अविरल वर्षाका कारण कैलाली, कञ्चनपुरसहित प्रदेशका पहाडी जिल्लामा पनि बाढी पहिरोबाट प्रभावित भइरहेका छन ।
मंगलबार विज्ञप्ती जारी गर्दै दलको कार्यालयले डोटी र डडेल्धुरामा ज्यान गुमाउने प्रति पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै पीडितलाई तत्काल राहत र हवाई उद्दार गर्नुपर्ने माग गरेको हो । ‘अहिले देशका अधिकांश स्थानमा बर्षातले जनजिवन प्रभावित बनाएको छ ।बिशेष गरी सुदूरपश्चिम प्रदेशमा बर्षाले ठुलो धन जनको क्षतिका साथै किसानहरुले वाली भित्र्याउने समयमा धान खेती पुरै तहसनहस बनाएको छ ।
यस्ता दृष्यले हामीलाई गम्भिर ध्यानाकर्षण गरेको छ’ दलका नेता रणबहादुर रावलद्धार हष्ताक्षरित सो विज्ञप्तीमा भनिएको छ ‘कर्णाली नदीले कैलालिको पुर्वि भेग सोल्टा, मोहन्याल, जानकी गाउँपालिका, टिकापुर नगरपालिका अन्तर्गत सिमरेनी, सति, धनसिङपुर आदिमा नदीको पानी तटबन्ध माथि बगीरहेको छ र गाउँहरु डुबान परेका छन र धानबालि पुर्ण नष्ट भएको छ ।’
दलको कार्यालयले प्रदेश सरकारले पीडितका लागि राहत प्याकेज ल्याउन सुझाव दिएको छ । भनिएको छ ,‘यस्तो बिपतका समयमा प्रदेश सरकारले जनताको समस्या सम्बोधन गरेर राहतका प्याकेज सहित धानवालीमा भएको क्षतिको एकिन तथ्याङक निकाली क्षतिपुर्तिको व्यबस्था गर्नुपर्ने हामी माग गर्दछौं ।’

२ कात्तिक २०७८, मंगलवार १८:५७ बजे प्रकाशित












