सुदूरपश्चिम प्रदेशसभा : दलको संख्या दोब्बर बन्दा…

सुदूरपश्चिम प्रदेशसभा गठन हुँदा प्रदेशसभामा चार दलको प्रतिनिधित्व थियो । २०७४ माघ २१ गते सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठक बसेको थियो । प्रदेशसभामा नेकपा एमाले, माओबादी केन्द्र, नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)को प्रदेशसभामा प्रतिनिधित्व थियो ।

२०७४ मंसिरमा गठबन्धन बनाएर चुनाव लडेका एमाले र ओबादी केन्द्रले पार्टी एकता गरेर नेपाल कम्युनिष्ट (नेकपा) बनेपछि प्रदेशसभामा दलको संख्या घटेर तीनमा सीमित भयो । नेकपाले दुई तिहाईको सरकार पनि सञ्चालन गर्यो ।

तर एमाले र माओबादी केन्द्रका एकता तीन वर्ष नपुग्दै टुट्यो । फेरि प्रदेशसभामा दलको संख्या तीनबाट फेरि चार पुग्यो । अहिले फेरि नेकपा एमाले पनि विभाजन भएपछि नयाँ दल नेकपा (एकीकृत समाजबादी) थपिएको छ ।

त्यस्तै, प्रदेशसभामा दुई जना सांसद मात्रै भएको राजपा पनि फुटेर थप अर्को लोकतान्त्रिक समाजबादी पार्टी (लोसपा) पनि बनेको छ । कुनै समय तीन पार्टीको प्रतिनिधित्व रहेको प्रदेशसभामा अहिले ६ दल छन् । यति हुँदासम्म प्रदेशसभाको बैठक बस्न सकेको छैन । दुई महिनादेखि प्रदेशसभाको बैठक बस्न सकेको छैन ।

्प्रदेशसभा दलको संख्या ६ पुगेपछि सिट वयवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि दलहरुबीच छलफल सुरु भएको छ । पहिले एमाले र माओबादी केन्द्र मिलेर बनेको नेकपाका ३८ सांसद (सभामुख) एक तिर र नेपाली काँग्रेसका १२ सांसद र राजपाका दुई सांसद एकतिर बस्दै आएका थिए ।

प्रतिपक्षमा रहेका नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादर रावल बस्ने बेञ्चमै राजपाका संसदीय दलका नेता कृष्ण चौधरी पनि बस्थे । राजपाकै अर्की सांसद मालामती राना भने पछाडि बस्थिन् । अब भने प्रदेशसभाका ६ दललाई कहाँ कसरी राख्ने भन्ने अन्यौलता भएको छ ।

सानो आकारको सभाकक्षमा दलका सांसदलाई कसरी व्यवस्थापन गरेर सिट मिलाउने भन्ने विषयमा छलफल गर्नुपर्ने अवस्था आएको प्रदेशसभाका सचिव रामसिंह धामीले बताए । ‘८ गतेसम्म सिट व्यवस्थापनलगायतका विषयमा छलफल गर्नका लागि दलका नेताहरुबीच बैठक बस्ने कुरा भएको छ,’ उनले भने ।

अहिले एमालेबाट फुटेर गएको दल नेकपा (एकीकृत समाजबादी) १४ सांसदसहित सबै भन्दा ठूलो दल बनेको छ । जुन दल नेकपा माओबादी केन्द्र नेतृत्वको सरकारमा सत्ता साझेदार दल पनि हो । यस्तै केन्द्रमा सत्ता गठबन्धनमै रहेको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशसभामा अहिलेसम्म प्रमुख प्रतिपक्षमै रहेको छ ।

काँग्रेस प्रदेशसभामा १२ सांसदसहित तेस्रो दलका रुपमा रहेको छ । यद्यपि, यसअघि नेपाली काँग्रेसले मुख्यमन्त्री त्रिलोचन भट्ट विश्वासको मत लिनेबेला मौन समर्थन जनाएको थियो ।

मुख्यमन्त्रीलाई विश्वासको मत पुग्ने निश्चित भएपछि काँग्रेसले ‘नो भोट’को नीति लिएको थियो । काँग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत नपुग्ने अवस्थामा मात्रै मतदानमा सहभागी हुने निर्णय अगाडि नै गरेको थियो ।


६ असोज २०७८, बुधवार १८:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु