सुदूरपश्चिम प्रदेशसभाको बैठक दुई महिनादेखि अनिश्चित
दुई महिनाअघि अनिश्चित कालका लागि स्थिगित भएको सुदूरपश्चिम प्रदेश सभाको बैठक अझै बस्न सकेको छैन । सत्ता साझेदार दलमा भएको विवाद, पार्टी विभाजनलगायतका कारण प्रदेशसभा बैठक दुई महिनादेखि अनिश्चित बनेको हो ।
सभामुख अर्जुनबहादुर थापाले गएको असार २७ गते प्रदेशसभा अर्को सूचना नभएसम्मका लागि बैठक स्थिगित भएको घोषणा गरेका थिए ।सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले केही दिनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुबीच छलफल हुने र बैठकको मिति तय हुने उनले बताए ।
‘पछिल्लो समयमा सत्ता साझेदार दलमा देखिएको राजनीति उतारचढाव र पर्याप्त विजनेश नहुँदा दुई महिनादेखि बैठक बस्न सकेको थिएन,’ उनले भने, ‘अब कसरी र कहिलेदेखि बैठक बोलाउने भन्नेबारे दलका नेताहरुबीच छलफल भएर मिति टुंगो लाग्छ ।’ सचिव धामीले असोज दोस्रो सातासम्म प्रदेशसभाको बैठक बस्न सक्ने सम्भावना रहेको बताए ।
उनका अनुसार प्रदेशसभामा छलफलका लागि तीनवटा विधेयक सचिवालयमा दर्तासमेत भइसकेका छन् भने तीनवटा विधेयक समितिमा छलफलमा छन् । पशुपन्छी स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भइसकेको छ ।
त्यस्तै, प्रदेश लोकसेवा आयोग सम्बन्धमा बनेको विधेयक र प्रदेश खेलकुद सम्बन्धी विधेयक पनि संशोधनका लागि सचिवालयमा दर्ता भएको सचिव धामीले जानकारी दिए ।
उनका अनुसार लोकसेवा आयोगको विधेयकमा स्थानीय तहका कर्मचारीकोबारेमा स्पष्ट नभएको र खेलकुद सम्बन्धी विधेयकमा सदस्य सचिवको कार्यकाल नतोकिएको कारण संशोधनका लागि सचिवालयमा दर्ता भएका हुन् ।
यस्तै, प्रदेश निजामती सेवा र प्रदेश प्रहरी गठन सम्बन्धमा बनेको विधेयक विधायन समितिमा छलफलमा छ भने दलित सशक्तीकरण सम्बन्धी विधेयक सामाजिक विकास समितिमा छलफलमा रहेको सचिव धामीले जानकारी दिए । ती विधेयक समितिमा छलफलपछि सिधै प्रदेशसभाको बैठकमा पेश हुनेछन् ।
‘हाउसबाट पारित हुन बाँकी रहेका विधेयकहरु पारित भइसकेपछि वर्षे अधिवेशन अन्त्य हुने प्रदेशसभा सचिव धामीले बताए । हालसम्म प्रदेश सभाबाट ५३ वटा विधेयक पारित भइसकेका छन् ।
५ असोज २०७८, मंगलवार १७:५६ बजे प्रकाशित












