विधानलगायत विषयमा छलफल गर्न नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आज (मंगलबार) बस्दै छ। निर्वाचन आयोगले भदौ ९ गते पार्टी दर्ता प्रमाणपत्र उपलब्ध गराएपछि पहिलो पटक बैठक बस्न लागेको हो।
पार्टीको विधानलगायत आन्तरिक तयारीका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक दिउँसो २ बजे बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बस्ने केन्द्रीय कमिटी सदस्य मेटमणि चौधरीले बताए।आजको बैठकले पार्टी बिधानका साथै संगठनसम्बन्धी विभिन्न प्रतिवेदन तयार पार्ने उनको भनाइ छ।
साथै, आजको बैठकको कार्यसूचीमा पार्टीको जिल्ला इन्चार्ज तोक्ने, प्रदेश कमिटी अनुमोदन गर्नेलगायत विषय रहेको चौधरीले बताए। बैठकबाट तीन महिने पार्टी कार्ययोजनासमेत तय हुने उनको भनाइ छ।
नेकपा एमालेका ५६ केन्द्रीय सदस्य र ३० सांसदले निर्वाचन आयोगमा सशरीर उपस्थित भई नयाँ दलका पक्षमा सनाखत गरेका थिए। एमालेबाट विभाजित भएर माधव कुमार नेपालको अध्यक्षतामा एकीकृत समाजवादी पार्टी गठन भएको हो।
५ असोज २०७८, मंगलवार ०९:२७ बजे प्रकाशित












