चुरेका पहिरोपीडित : २२ दिनदेखि सडकको बास, छैन राहत
कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ मा बेल्चापलानस्थित सडक छेउमा क्रमैसंग त्रिपाल टाँगिएका छन् । ती त्रिपालमा त्यस आसपास क्षेत्रमा भदौ दोस्रो हप्तातिर आएको पहिरोबाट पीडित बनेका स्थानीय बासिन्दा बसिरहेका छन् । वडा नम्बर ५ का विभिन्न टोलका २५ पहिरोपीडित परिवारको बास अहिले सडक छेउ बनेको छ ।
गत भदौ ९ र १० गते वर्षासंगै आएको पहिरोमा परेर त्यहाँ कैयौं बस्ती विस्तापित भएका छन् । राति सुतेको समयमा आएको पहिरोले गाउँनै विस्तापित भएर सडकमा आएको वडा नम्बर ५ काफलगैराका कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ काफलगैराका कमल तामाङले दुखेसो पोखे । ‘हामी घरमा सुतिरहेका बेला थियौं केही थाहा थिएन, ११ गते बिहान ४ बजे उठ्दा घरनजिकै माटोका भेल थियो,’ उनले भने, ‘घरको आँगनमै माटोको भेल आएपछि विस्थापित भयौं । अहिले माथि सडकमा पाल टाँगेर बसेका छौँ ।’

सोही बस्तीका ५८ वर्षीय भीमबहादुर तामाङ पनि वडा नम्बर ५ स्थित बेल्चाप्लानको सडकछेउमा त्रिपाल लगाएर बसेका छन् । ४८ सालदेखि काफलगैरा बस्तीमा बस्दै आएका उनी ११ गतेको अविरल वर्षापछिको पहिरोले सडकमै पाल टाँगेर बस्न बाध्य बनाएको बताउँछन् ।
उनका अनुसार भदौ ९ र १० मा भारी वर्षाका कारण चुरे गाउँपालिका वडा नम्बर ५ का गोपाले, काफलगैरा, माल, निङ्गलाडीकाफलगैरा बस्ती प्रभावित भएको छ । घर, गोठ जमिन चर्किनुका साथै सो बस्ती पहिरोको उच्च जोखिममा रहेको वडा कार्यालयले जनाएको छ ।
वडा नम्बर ५ का वडा अध्यक्ष नरबहादुर तामाङले गोपालेका तीन र काफलगैराका आठ गरी ११ घरधुरी उच्च जोखिममा रहेको बताए । तर अहिले पहिरोबाट प्रभावित भएको भन्दै २४ घरधुरी सडकमा बसेका छन् । वडा अध्यक्ष तामाङले विस्थापित भएका घरधुरीलाई अहिले त्रिपाल दिएर सडकमै व्यवस्थापन गरिएको बताए ।
दैनिक मजदुरीले जीविकोपार्जन गर्दै आइरहेका पहिरोपीडितले राहतको नाममा त्रिपाल
मात्रै पाएको बताएका छन् । अहिले सडकमा आएका काफलगैराका मिनबहादुर तामाङले गाउँपालिका, वडा कार्यालय र नेपाल रेडक्रस सोसाइटीबाट त्रिपाल मात्र पाएको दुखेसो पोखे ।
उनले सडकमा बसेपछि खान, बस्न पनि समस्या रहेको बताए । केही दिनअघि नेपाली कांग्रेस गाउँपालिका समितिले चामल, दाल राहत उपलब्ध गराउनुबाहेक अन्य राहत नआएको पहिरोबाट प्रभावितहरुको भनाई छ ।
सडकमा बस्नुभन्दा सरकारले सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ । बासका लागि बनाइएको घर उच्च जोखिममा परेपछि सरकारले उचित बासस्थानको व्यवस्था गर्नुपर्ने स्थानीय ललित तामाङले बताए । वडा कार्यालयका अनुसार पटक–पटकको पहिरोका कारण वडाभित्रका तीन सय २४ घरधुरी विस्थापित भएका छन् ।
२ असोज २०७८, शनिवार ०९:१८ बजे प्रकाशित












