कांग्रेस महाधिवेशन तालिकामा हेरफेर (विज्ञप्तिसहित)

सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन कार्यतालिका हेरफेर भएको छ। केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको कार्यतालिका फेरबदल गरेको हो।

कांग्रेस पदाधिकारी बैठकले गरेको प्रस्तावका आधारमा निर्वाचन समितिले गाउँ–नगरपालिका अधिवेशनदेखि जिल्ला अधिवेशनको नयाँ मिति तय गरेको हो।

शुक्रबार विज्ञप्ति प्रकाशित गरी निर्वाचन समितिले भदौ २७ गतेका लागि निर्धारण गरेको गाउँ–नगरपालिका अधिवेशन असोज ५ गतेका लागि तोकेको जनाएको छ।

यस्तै, असोज १ गतेका लागि निर्धारित प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते तय गरिएको छ भने असोज ५ गतेका लागि तय गरिएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन असोज १५ गतेका लागि तोकिएको छ।

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशनको मिति असोज १८ का लागि तोकिएको समितिले जनाएको छ। यसअघि उक्त अधिवेशन असोज १० गते गरिने निर्णय गरिएको थियो।

आगामी कार्तिक १०–१२ मा हुने भनिएको क्षेत्रीय अधिवेशन र मंसिर ९–१३ मा हुने भनिएको केन्द्रीय महाधिवेशनको मिति भने यथावत राखिएको छ।

पदाधिकारीको शुक्रबार बसेको बैठकले गाउँ–नगरपालिका, प्रदेशसभा क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशनको मिति हेरफेर गर्न प्रस्ताव गरेको थियो।


२५ भदौ २०७८, शुक्रवार १९:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु