तुइन चुँडिएर युवक बेपत्ता प्रकरण : राष्ट्रिय अनुसन्धानसहित सुरक्षा निकायको टोली घटनास्थलतर्फ
दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा तुइनमार्फत नदी तर्नेक्रममा खसेर एकजना बेपत्ता भएको घटनाबारे अनुसन्धानका लागि राष्ट्रिय अनुसन्धान विभागको टोलीसहित ६ जना प्रहरीको टोली त्यसतर्फ गएको छ ।
राष्ट्रिय अनुसन्धान विभागका दुई जना, सशस्त्रका डीएसपीसहित दुई जना र नेपाल प्रहरीका इन्सपेक्टरसहित दुई जना गरेर ६ जनाको टोली अनुसन्धानका लागि घटनास्थल मालघाटतर्फ हिँडेको हो ।
टोली शनिबार विहान घटनास्थल मालका लागि हिँडेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिए । उनका अनुसार टोली झण्डै सात घण्टाको समय लगाएर भारत हुँदै घटनास्थल मालघाट पुग्नेछ ।
नेपालबाट मालघाट पुग्न छोटो र मोटर बाटो नभएको र पैदलबाट लामो बाटो जाँदा डेढ दिन लाग्ने भएकाले भारत हुँदै घटनास्थल जानुपर्ने प्रहरी निरीक्षक चन्दले बताए । ‘भारतको सिघ्रम हुँदै नेपालको हुती भन्ने ठाउँमा आउनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यहाँबाट करिब ६ घण्टाको दुरी पार गरेर मात्रै घटनास्थल मालघाट पुग्न सकिन्छ ।’ ६ जनाको सुरक्षाकर्मीको टोलीले त्यहाँ पुगेर घटनाबारे अनुसन्धान अगाडि बढाइने उनले बताए ।
दार्चुलाको व्यास गाउँपालिका मालका ३० वर्षीय जयसिंह धामी भारत हुँदै सदरमुकाम खलंगा आउन लाग्दा तुइन तर्र्नेक्रममा शुक्रबार महाकाली नदीमा खरेर बेपत्ता भएका छन् । उनीसंग आएका अन्य पाँच जना तुइन तरेर वारि आइसकेपछि उनी अन्तिममा आउन लाग्दा तुइनबाट खरेर बेपत्ता भएको बताइएको छ ।
स्थानीयले तुइन तर्नेक्रममा भारतीय सुरक्षाबल एसएसबीले तुइन काटिदिएपछि उनी नदीमा खरेर बेपत्ता भएको बताएका छन् । तर स्थानीयको भनाई अहिलेसम्म पुष्टि हुन सकेको छैन । यसबारे अनुसन्धाननै भइरहेको प्रहरीले जनाएको छ ।
१६ साउन २०७८, शनिवार १२:४५ बजे प्रकाशित













