प्रहरी भन्छ– एसएसबीले तुइन काटेको पुष्टि भएको छैन, प्रत्यक्षदर्शी पनि छैन
दार्चुलाको व्यास गाउँपालिकाका २ मालघाटमा तुइन तर्नेक्रममा खसेर सोही ठाउँका ३० वर्षीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
‘अहिलेसम्म भारतीय एसएसबीले तुइन काटेको हो भनेर देख्ने प्रत्यक्षदर्शी भेटिएको छैन,’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले भने, ‘बेपत्ता भएका व्यक्तिसंगै आएका अन्य व्यक्तिहरुले पनि तुइन काटेको नदेखेको बताएका छन् । राष्ट्रिय अनुसन्धान विभागको टोलीसहित गएको ६ जनाको टोलीले थप कुरा बाहिर ल्याउने प्रयास गर्नेछ ।’
उनले अगाडि भने, ‘जयसिंहसंगै आएकाहरुका अनुसार तुइन लगाएको ठाउँमा खोँच भएकाले वारिबाट पारी प्रष्ट नदेखिने रैछ, प्रष्ट उतै पुगेपछि थाहा हुन्छ ।’ घटनाबारे अनुसन्धानका लागि भारतीय सुरक्षा बल एसएसबीसंग पनि सहकार्य गरिने उनले बताए । उनले घटनाबारे अनुसन्धानका लागि राष्ट्रिय अनुसन्धान विभागको टोलीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर ६ जनाको टोली घटनास्थल प्रस्थान भएको उनले जानकारी दिए ।
उनका अनुसार सुन्सेरा प्रहरी र दुम्लिङ प्रहरी चौकीको टोली बेपत्ता भएका व्यक्तिको खोजीका लागि शुक्रबारदेखिनै खटिएको छ । एसएसबीले पनि आफ्नो क्षेत्रमा खोजी गरिरहेको उनले बताए ।
भारतीय प्रशासनलाई पत्राचार
व्यासमा भएको घटनाको विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले सत्यतथ्य छानविनका लागि भारतीय प्रशासनलाई पत्रचार गरेको छ । जिल्ला प्रशासनले भारतको डीएम कार्यालय पिथौरागढ र एसडीएम कार्यालय धारचुलालाई सत्यतथ्य छानबीन गर्न पत्रचार गरेको हो ।
यस्तै सोही पत्र गृहमन्त्रालयलाई समेत बोदार्थको रुपमा पठाइएको निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताइन् । ‘भारतीय एसएसबीले तुईन काटेर नेपाली युवकको मृत्यु भएको भन्ने सन्दर्भमा सत्यतथ्य के हो भनेर जानकारी माग गरेका छौं,’ निमित्त प्रजिअ जोशीले भनिन्, ‘अहिलेसम्म भारतीय प्रशासनबाट त्यसको जवाफ आएको छैन् ।
उनले घट्नाको विषयमा सत्यतथ्य पत्ता लगाउन सुरक्षाकर्मी पनि खटाइएको बताइन् । तुइनको तार चुडिएर बेपत्ता भएका हुन् वा एसएसबीले तार काटेर बेपत्ता गराएका हुन् भन्ने विषय पुष्टि नभएको उनले बताइन् ।
त्रिदेशीय सीमाना भएका कारण मालघाट क्षेत्रलाई भारतले सुरक्षाका दृष्ट्रिकोणले संवेदशील मान्दै आएको छ । यहाँ तुइन गैरकानुनी मानिन्छ । तर सहजताका लागि मानिसहरूले लुकेर तुइन लगाउँदै महाकाली वारपार गर्दै आएका छन् ।
स्थानीयका अनुसार एसएसबीले यहाँ तइन लगाएको देखेमा विगतदेखि काट्दै आएको थियो । नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ ।
नेपालतिरको माल र भारतको गस्कु क्षेत्रमा यसअघि नै झोलुंगे पुल निर्माणको ठेक्का भई निर्माण कार्य सुरु भएपनि हालसम्म पुल निर्माण हुन सकेको छैन ।
१६ साउन २०७८, शनिवार १२:२६ बजे प्रकाशित













