भीम रावल ओलीले बोलाएको स्थायी कमिटी बैठकमा
नेकपा एमालेका उपाध्यक्ष भीम रावल अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन्।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका उपाध्यक्ष बालुवाटार पुगेका हुन् । ओलीले बोलाएको बैठकमा सहभागी नहुने यसअघिनै जानकारी दिएका थिए । नेता नेपालले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई बदर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेशको स्वागत गरेका थिए।
नेता नेपालको कोटेश्वरस्थित निवास विपक्षी गठबन्धनको बैठक बसिरहेका बेला रावल बालुवाटार पुगेका हुन्। बालुवाटार स्थायी कमिटी बैठक बसिरहेको छ।
एमाले विवाद समाधान कार्यदलमा रहेका नेपाल निकट अर्का नेता सुरेन्द्र पाण्डेले पनि आफू बालुवाटार बैठकमा जाने बताएका थिए। कार्यदलले आइतबार राति एमाले मिलाउन दश बुँदे सहमति तयार पारेको थियो।
सर्वोच्चको फैसलापछि उक्त दश बुँदे सहमतिको कार्यान्वयन हुन्छ कि हुन्न भन्ने अन्यौल बढेका बेला नेपालका तर्फबाट कार्यदलका संयोजक रहेका नेता रावल बालुवाटार पुगेका हुन्।
२८ असार २०७८, सोमवार १७:३७ बजे प्रकाशित































