अझै केही दिन भारी वर्षा हुने, यस्तो छ तीन दिनको मौसमी अवस्था
जल तथा मौसम विज्ञान विभागले अझै केही दिन भारी वर्षा हुने जनाएको छ । निरन्तरको बर्षाले बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।
विभागले बिहीबार विज्ञप्तिमार्फत मनसुनको अवधिभर आम सर्वसाधारणलगायत सम्पूर्ण सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हि। औषतभन्दा बढी बर्षाले मुलुकमा बाढी पहिरोको सम्भावना भएकाले सावधानी र क्षति न्यूनीकरणका कार्यक्रम तीब्ररूपमा अघि बढाउनुपर्ने मौसमविद्को भनाइ छ।
देशभर मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बिहीबार तमोर नदी मुलघाट, धनकुटा, सुनसरी र सप्तरी, बडिगाड नदीको रुद्रवेणी स्थित जलमापन केन्द्र, तमोर नदीको माझिटारस्थित जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटिय क्षेत्रमा दिउँसोसम्म सतर्क रहन विभागले आग्रह गरेको छ।
विभागले नवलपुर जिल्लाको अरुङग र आसपासको क्षेत्र, सुर्खेतको खानीखोला र आसपास, तनहुँको बिमलनगर, बन्दीपुर र आसपास, चितवनको छरछरेमा भारी बर्षा भएको डुबान हुने क्षेत्रमा सतर्क रहन अनुरोध गरेको छ।
बिहीबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।
प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
राती देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।
शुक्रबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ भने सुदुर पश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाकाले जनाएको छ।
२४ असार २०७८, बिहीवार ०९:२१ बजे प्रकाशित














