बाजुरामा खाद्यान्न अभाव, चामलबिना फिर्ता
वर्षाका बेला विभिन्न बहाना बनाएर ठेकेदारले ढुवानी नगरेपछि, बाजुरा जिल्लाको हिमाली क्षेत्रमा खाद्यान्न अभाव भएको छ ।
हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा ठेकेदारले सम्झौता भएको वर्ष दिनसम्म पनि चामल ढुवानी नगर्दा महिना दिनदेखि चरम खाद्य संकट भएको हिमाली गाउँपालिका–३ का वडा अध्यक्ष धनलाल रोकायाले बताए ।
अनुदानको चामल ढुवानी नभएपछि हिमाली गाउँपालिका १, २, र ३ को बिच्छँया, ४ र ५ को रुगीनमा खाद्य संकट भएको वडा अध्यक्ष रोकायाले बताए । हिमाली गाउँपालिका–१ बिच्छँयाका धर्मलाल रोकाया तीन दिन हिँडेर कवाडी अस्थायी डिपोमा चामल किन्न पुुगे ।
‘तर, डिपोमा एक दाना पनि चामल नपाएपछि रित्तो हात फर्कें, चामल नपाएपछि सिस्नो कन्दमूल गिठ्ठा भ्याकुरले छाक टार्नुपर्ने भएको छ’, रोकायाले भने ।
हिमाली गाउँपालिका–१ बिच्छँयाबाट चामल किन्न २५ जना आएको तर चामल नपाएपछि रित्तो हात घर फर्किन लागेको उनले बताए । ‘हामी चामल पाइन्छ भनेर आएका हौं, तर नपाए पछि घर फर्किंदै छौं’, उनले भने ।
त्यहाँबाट आउने सर्वसाधारणले वर्षाका बेला खाद्यान्न अभाव भएको भन्दै गुनासो गरेका छन् । ‘तीन दिन लगाएर कवाडी डिपो पुग्यौं, चामल पाएनौं । अबको विकल्प कोल्टीको खाद्यमा हो, कोल्टी पुुग्न फेरि एक दिनको पैदल हिँड्नुपर्ने हुन्छ’, घरबाट साहूसँग चार हजार सापटी ऋण निकालेर चामल किन्न आएका चन्द्रबहादुर बुढ्थापाले बताए ।
‘कोल्टी जाऔं भनेपछि ऋण निकालेर ल्याएको पैसा सबै बाटोमा खान मात्र पुग्छ, अनि चामल के ले किन्ने रु’, बुढ्थापाले भने । साविकको बिच्छँया गाविसमा मात्र चार हजार जनसंख्या छ । स्थानीय उत्पादनले वर्षमा दुई महिना पनि खान पुग्दैन ।
हिमाली गाउँपालिका बाजुराको सर्वाधिक बिकट गाउँपालिका हो । यो गाउँपालिकाको टाढाको गाउँ पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्ने गरेको छ ।
कवाडी अस्थायी डिपोका लागि खाद्य संस्थान बाजुराले यो वर्ष मात्र ३ हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेर ठेक्का भएको थियो । मार्तडीबाट एलबी कन्सट्रक्सन, कोल्टिबाट ओम शिव कन्सट्रक्सन र धनगढीबाट बडिमालिका कन्सट्रक्सन एण्ड अर्डर सप्लायर्सले ढुवानी जिम्मा पाएको थियो ।
तर, अहिलेसम्म १५ सय कुइन्टल मात्र ढुवानी भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
मार्तडी र कोल्टीबाट जिम्मा लिएका एलबी कन्सट्रक्सन र ओम शिव कन्सट्रक्सनले आफ्नो कोटाका चामल ढुवानी र बिक्री गरेर रकम भुक्तानी भइसकेको छ ।
धनगढीबाट ढुवानी जिम्मा लिएको बडिमालिका कन्सट्रक्सन एण्ड अर्डर सप्लायर्सले दुई सय १० कुइन्टल चामल ढुवानी नगरेको मार्तडी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख मेखराज ओझाले बताए ।
मार्तडी शाखा प्रमुख मेखराज ओझाले भने चामल ढुवानी नभएकाले ठेकेदारलाई ताकेता गरिरहेको बताए । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले कवाडीमा चामल सकिएको जानकारी आएको बताए । चामल ढुवानीको लागि प्रदेशलाई ताकेता गरिरहेको उनले बताए ।
कवाडीमा चामल ढुवानी पाएको ठेकेदार बडिमालिका कन्सट्रक्सन एण्ड अर्डर सप्लायर्सका सञ्चालक लोकेन्द्र रावलले पहिले चामल बिक्री नभएर ढुवानी कम गरिएको तर अहिले सडक अवरुद्ध भएकाले चामल सकिएको बताए ।
हिउँदमा कवाडीसम्मै गाडी पुुग्ने भएकाले संस्थानको चामलभन्दा बजारमा ८ रुपैयाँ सस्तोमा चामल पाइन्छ । तर, अहिले बजारमा समेत चामल अभाव भएको छ । अन्नपूर्णमा खबर छ ।
२४ असार २०७८, बिहीवार ०८:४४ बजे प्रकाशित