देउवाको गृहजिल्लामा सभापतिको रस्साकस्सी, साउदलाई बूढानीलकण्ठको ‘ग्रीन सिग्नल’

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराको पार्टी सभापतिमा भीमबहादुर साउदलाई अगाडि सार्ने भएका छन् । सोमबार विहान देउवा निवास बूढानीलकण्ठ पुगेका डडेल्धुराका नेताहरूसँगको छलफलमा देउवा साउदको पक्षमा उभिएका हुन् ।

साउदलाई सभापति बनाउने विषयमा देउवापत्नी आरजु राणा पनि सकारात्मक देखिएकी छन् । डडेल्धुराको पार्टी राजनीतिमा गहिरो चासो राख्दै आएकी आरजु पनि साउदकै पक्षमा उभिएको पाइएको छ ।सोमबारको छलफलमा देउवा दम्पती र जिल्लाका करिब एक दर्जन नेता कार्यकर्ताका बीचमा परशुराम नगरपालिका मेयरसमेत रहेका साउदलाई सभापति बनाउने समझदारी भएको हो।

समयमै जिल्ला सभापतिको टुंगो नलाग्दा विगतमा पराजित हुनुपरेको भन्दै जिल्ला नेताहरुले देउवालाई समयमै निर्णय लिन आग्रह गरेका थिए । सोही क्रममा देउवाले आफूलाई जिल्ला सभापतिको उम्मेदवारका रुपमा अगाडि सारेको साउदले जानकारी दिए ।

देउवा टिमबाट साउदसँगै पूर्वसभापति रघुवर भट्ट, प्रदेश सांसद गोविन्द बोहोरा र नेता नवलबहादुर मल्लले जिल्ला सभापतिको आकांक्षा राखेका थिए । साउदका अनुसार बूढानीलकण्ठ छलफलमा सहभागी भट्ट र बोहोराले समेत उनलाई सभापति बनाउने देउवाको प्रस्तावमा समर्थन जनाएका छन् । साउदले  भने, ‘सिनियर दाइहरू ९भट्ट र बोहोरा०ले साथ सहयोग रहने भन्नुभएको छ, अरु साथीहरुलाई पनि मिलाउने मेरो कोशिस रहन्छ ।’ प्रतिस्पर्धामा मै जानुपरे पनि आफू उम्मेदवार बन्ने अब पक्का भएको उनको भनाइ छ ।

तर, गन्यापधुरा गाउँपालिकाका अध्यक्ष समेत रहेका सभापतिका आकांक्षी मल्ल भने काठमाडौं आएका थिएनन् । देउवाले उनलाई पनि मिलाउने नेताहरुलाई बचन दिएका छन् । सभापतिको टुंगो लगाउन तीन दिनदेखि काठमाडौंमा रहेका नेताहरु अब जिल्ला फर्किएका छन् । पछिल्ला वर्षहरुमा गृह जिल्लामा वर्तमान सभापति कर्णबहादुर मल्ल हाबी भएपछि देउवाका लागि टाउको दुखाइको विषय बनेको थियो ।

१३ औं महाधिवेशनमा देउवाले रघुवर भट्टलाई अगाडि सारे पनि उनले मल्ललाई रोक्न सकेनन् । मल्ल देउवाविरुद्ध मोर्चाबन्दीमा संस्थापनइत्तर पक्षसँग उभिँदै आएका छन् । तर, पार्टी विधान अनुसार दुईपटक सभापति भइसकेका कर्ण मल्ल फेरि जिल्ला सभापति हुन पाउने छैनन् ।

मल्लले देउवाका उम्मेदवारविरुद्ध वर्तमान उपसभापति करुणाकर भट्टलाई अगाडि सार्ने रणनीति बनाएको बुझिएको छ । तर, साउदलाई उम्मेदवार बनाएपछि करुणाकर अगाडि आउँछन्, आउँदैनन्, एकिन छैन ।

देउवा साउदको पक्षमा किन ?

साउद लामो राजनीतिक पृष्ठभूमि र राम्रो आर्थिक हैसियत भएका नेता हुन् । जिल्लामा आर्थिक र राजनीति रुपमा साउदले राम्रै पकड जमाएको पाइन्छ । जिल्लामा सभापति कर्ण मल्लको पकड भत्काउन देउवाले साउदलाई उपयुक्त पात्रका रुपमा हेरेको देखिन्छ ।

साउदलाई जिल्ला सभापति बनाउँदा जिताउन पनि सजिलो र जिल्लामा आफ्नो रिक्त नदेखिने देउवाको बुझाइ छ । महाधिवेशन प्रतिनिधिमा सबैभन्दा बढी भोट ल्याउने नेतामा पर्छन् । ०४९ मा गाविस अध्यक्ष, ०५४ जिविस सदस्य समेत रहेका उनी पछिल्ला वर्ष लगातार महाधिवेशन प्रतिनिधि रहिआएको छन् ।

राम्रो आर्थिक हैसियत भएका साउदलाई जिल्ला सभापति बनाउँदा अहिले जस्तो केन्द्रबाट सरसहयोग गरिरहन आवश्यक हुने छैन । साथै डडेल्धुराको भोट बैंक मानिने मध्यबेंसीमा राम्रो पकड भएका साउद सभापति हुँदा आम चुनावमा चिन्न सजिलो हुने देउवाले ठानेको पाइन्छ ।

जिल्लामा आर्थिक र राजनीति रुपमा साउदले राम्रै पकड जमाएको पाइन्छ । जिल्लामा सभापति कर्ण मल्लको पकड भत्काउन देउवाले साउदलाई उपयुक्त पात्रका रुपमा हेरेको देखिन्छ । साउदलाई जिल्ला सभापति बनाउँदा जिताउन पनि सजिलो र जिल्लामा आफ्नो रिक्त नदेखिने देउवाको बुझाइ छ ।


२१ असार २०७८, सोमवार १९:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु