चिकित्सकको स्वीकृति बिना औषधि खरिदबिक्री गर्ने २ जना पक्राउ

कैलालीको धनगढीबाट चिकित्सकको स्विकृती बिना औषधि खरिदबिक्री गर्ने दुई जना पक्राउ परेका छन्।

कैलाली प्रहरीले धनगढी उप–महानगरपालिका वडा नम्बर–१३ का २१ वर्षीय सोमराज जोशी र धनगढीकै वडा नम्बर–५ का २३ वर्षीय करन चौधरीलाई पक्राउ गरेको हो । प्रहरीले आइतबार दिउँसो एलएन चोकमा साइकलमा गइरहेका बेला धनगढी–१३ का २१ वर्षीय सोमराज जोशीलाई अवैध औषधिसहित पक्राउ गरिएको थियो।

प्रहरीले उनको साथबाट चिकित्सकको स्विकृती बिना खरिद गरिएको स्पास्मो २० ट्याब्लेट, पर्लिन–७५ का २ क्याप्सुल र प्रेग्यास्टार–१५० लेखेको १२ क्याप्सुल बरामद गरेको थियो। अनुसन्धानका क्रममा उनले ती औषधि धनगढी–१ स्थित अस्पताल लाइनमा रहेको सन्तोष मेडिको प्रालिबाट खरिद गरेको भन्ने जानकारी दिएका थिए।

त्यसपछि कैलाली प्रहरीको टोलीले उक्त मेडिकलमा छापा हान्दा स्पास्मो २०२ टयाब्लेट, पर्लिन–७५ का २९७ क्याप्सुल र प्रेग्यास्टार–१५० का ६१५ क्याप्सुल फेला पारेको थियो। छापापछि प्रहरीले सोही मेडिकलमा काम गर्ने धनगढी–५ बस्ने २३ वर्षीय करन चौधरीलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतीक विष्टले बताए।

बरामद औषधि र पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि औषधि व्यवस्था विभाग नेपालगञ्ज पठाउने तयारी भइरहेको डीएसपी बिष्टले जानकारी दिए।


२० असार २०७८, आइतवार १८:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु