शेखर गोल्छा भन्छन्, ‘अब औद्योगिक विकासको प्राथमिकतामा सुदूरपश्चिम’
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले औद्योगिक विकासका लागि अब सुदूरपश्चिम प्राथमिकतामा रहेको बताएका छन् ।
कैलाली उद्योग बाणिज्य संघको ४७ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । अन्य प्रदेश भन्दा सुदूरपश्चिम औद्योगिक विकासमा पछाडि परेको भन्दै उनले अब लगानी गर्नुपर्ने अवस्था आएको बताए । उनले औद्योगिक, कृषि, पर्यटनलगायत क्षेत्रको विकासका लागि सर्वप्रथम ब्यक्तिको सोचाईमा परिवर्तन आउन आवश्यक रहेको औंल्याए । समृद्धि, विकासका लागि जिम्मेवार भई एकरुपता कायम गर्दा र बनेको नीति नियमलाई कार्यान्वयनमा जोड दिनुपर्ने अध्यक्ष गोल्छाको भनाई छ ।
औद्योगिक, कृषि, पर्यटन तथा विकास निर्माणको लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उनले बताए । उनले निजी क्षेत्रकै सहकार्य र जिम्मेबारी बहनका कारण अहिले नेपालको निजी क्षेत्र दक्षिण एसियामै अग्रणी रुपमा स्थापित रहेको उल्लेख गरे । यो भूमिकाप्रति निजी क्षेत्रलाई राज्यले सम्मान गर्नुपर्ने उनको भनाई छ । भूकम्पका कारण समस्यामा परेको र कोरोनाले थला परेको ब्यवसायलाई माथि उठाउन जरुरी रहेको बताउँदै उनले अब लगानी गर्ने समयमा आएको बताए ।
नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय सरकारले पनि उद्योग ब्यवसायको क्षेत्रमा सहकार्य गर्न आवश्यक रहेको बताए । अब समग्र क्षेत्रको औद्योगिक, कृषि पर्यटनलगायत क्षेत्रको विकासमा देखिने गरी काम हुने उनको दाबी छ ।
कार्यक्रममा कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले संघले समग्र सुदूरपश्चिमको औद्योगिक, पर्यटन, आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक तथा रोजगारी क्षेत्रमा योगदान पुर्याउँदै आएको उनको भनाई छ । स्थानीय तथा प्रदेश सरकारसंग समन्वय र छलफल गरी अघि बढेको जानकारी दिँदै अध्यक्ष कुँवरले प्रदेशलाई समृद्ध सुदूरपश्चिम बनाउने अभियानमा लागेको बताए । तर ब्यवसायी कर, बैंकको ऋण, ब्याज, घरबाहाल करलगायत बिभिन्न समस्याहरु भने यथावत रहेको उनको भनाई छ ।
सो अवसरमा बोल्दै उनले सुदूरपश्चिममा लगानी भित्र्याउन र ओद्योगिक, पर्यटन क्षत्रको हब बनाउन गेटा एयरपोर्टको विकास, गौरीफन्टा नाका स्तरोउन्नतिका लागि सरकार समक्ष पहल गरिदिन महासंघका अध्यक्षको ध्यानाकर्षणसमेत गराए । साधारण सभामा विभिन्न ब्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो । उद्योग ब्यवसायीको हकहित सम्बद्र्धन र संरक्षणका लागि कैलाली उद्योग वाणिज्य संघ २०२७ सालमा स्थापित भएको थियो ।
साधारण सभामा नेपाल उद्योग बाणिज्य संघ काठमाण्डौँका अध्यक्ष दिनेश श्रेष्ठ, कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, धनगढी उपमहानगरपालिकाका उप–मेयर सुशीला मिश्र भट्ट, कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पदमराज जोशी, नाष्ट क्याम्पसका क्याम्पस प्रमुख शिवहरी मुडभरी, कैलाली उद्योग बाणिज्य संघका संस्थापक तथा उद्योग बाणिज्य संघका पदाधिकारीलगायत बिभिन्न ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
२१ चैत २०७७, शनिवार १८:५० बजे प्रकाशित













