युवतीको मृत्यु प्रकरण : चौकी घेराउन गर्न गएका प्रदर्शनकारीमाथि गोली चलाउँदा २ जना घाइते
कैलालीमा बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले चलाएको गोली लागेर २ जना घाइते भएका छन्।
प्रदर्शनकारीहरुले ईलाका प्रहरी कार्यालय लम्की घेराउ गर्न खोज्दा भिडलाई तितरबितर गर्न हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी गराए। उनका अनुुसार गोली प्रहारबाट २ जना प्रदर्शनकारी घाइते भएका छन ।
घाइते दुवैजना थप उपचारका लागि कोहलपुर अस्पताल रेफर भएका छन्। उनीहरु मध्ये एक जनाको अवस्था मध्यम र एक जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक थापाले जानकारी गराए।
मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको ना ६ ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो।
सोही विषयलाई लिएर आन्दोलित भएका स्थानीयले राजमार्ग अवरुद्ध पार्नुका साथै टायर बालेर प्रर्दशन गरिरहेका छन्। उनीहरुलाई नियन्त्रण गर्न प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ।
१० चैत २०७७, मंगलवार १३:४१ बजे प्रकाशित












