छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
कैलालीमा भएको छुट्टाछुट्टै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ती दुर्घटनामा दुई जना घाइते भएका छन्।
जिल्लाको कैलारी गाउँपालिका ३ मा हुलाकी सडकखण्ड अन्तर्गत मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
बयल गाडालाई ओभरटेक गर्न खोज्दा भएको दुर्घटनामा धनगढी उप–महानगरपालिका १९ का अन्दाजी ४० वर्षीय खकेन्द्र चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी गराए।
घाइते चौधरीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता प्रहरी नायव उपरीक्षक बिष्टले जानकारी गराए।
यसैगरी जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा मोटरसाइकल र इलेक्ट्रिक रिक्सा एक आपसमा ठोक्किदा दुई जना घाइते भएको उनले जानकारी गराए ।
सुपप्र ०१–००८ प ९०२७ नम्बरको मोटरसाईकल र भे १ ह ११०४ नम्बरको ईलेक्ट्रि रिक्सा एक आपसमा ठोक्किँदा मोटरसाईकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका ३ बाणीका चन्द्रदेव भट्ट र ई–रिक्सा चालक लम्कीचुहा नगरपालिकाका देबेन्द्र तिमिल्सिना घाइते भएको ईलाका प्रहरी कार्यालय लम्की सञ्चार शाखाले जनाएको छ।
मोटरसाईकल चालक भट्ट गम्भीर घाइते भएका कारण थप उपचारका लागि कोहलपुर रिफर गरिएको प्रहरीले जानकारी गराउदै सामान्य घाइते ई–रिक्सा चालक तिमिल्सिनाको लम्कीस्थित अस्पतालमा उपचार भइरहेको बताए ।
९ फागुन २०७७, आइतवार ११:२१ बजे प्रकाशित































