म्यानमारमा सैन्य ‘कू’, आङ साङ सुकीसहित राष्ट्रपति पनि हिरासतमा

म्यानमारमा सेनाले सत्ता कब्जा गरेको छ । सेनाले नेसनल लिग फर डेमोक्रेसी पार्टीकी सर्वोच्च नेता आङ साङ सुकीलाई हिरासतमा लिएको छ । योसँगै म्यानमारमा सैन्य कू भएको छ ।

केही समययता त्यहाँ सरकार र सेनाबीच विवाद बढेको थियो । त्यही विवादका कारण म्यानमारमा सैन्य कू भएको बताइएको छ ।

यही विवादबीच सुकीलाई गिरफ्तारी गरेकाले म्यानमारमा सेनाको निकै ठूलो आलोचना पनि सुरु भएको बिबिसीले जनाएको छ । गत नोभेम्बरमा भएको निर्वाचनमा नेसनल लिग फर डेमोक्रेसी पार्टीले प्रचण्ड बहुमतका साथ जित निकालेको थियो ।

तर, सेनाले यो निर्वाचनमा धाँधली भएको बताउँदै आएको थियो । यसअघि सेनाले सोमबार हुने भनिएको म्यानमारको संसद बैठक पनि स्थगित गर्न आह्वान गर्दै आएको थियो ।

समाचार एजेन्सी रोयटर्सलाई नेसनल लिग फर डेमोक्रेसी पार्टीका प्रवक्ताका अनुसार सुकी मात्र होइन, सेनाले त्यहाँका राष्ट्रपति विन म्यिंट र अन्य नेताहरुलाई पनि हिरासतमा लिएको छ ।

उनले अन्य नेताहरुलाई पनि हिरासतमा लिन सकिने आशंका जनाएका छन् । बिबिसीका अनुसार अहिले म्यानमारका विभिन्न सहरमा सेनाहरु सडकमा निस्किएका छन् । त्यहाँ टेलिफोन र इन्टरनेट सेवाहरु काटिएका छन् ।

८ नोभेम्बरमा भएको निर्वाचनमा सुकीको पार्टीले ८३ प्रतिशत मत ल्याएको थियो । यसलाई सुकीको सरकारका लागि जनमतसंग्रहका रुपमा समेत लिइएको थियो ।

सन् २०११ मा त्यहाँ सैनिक शासन अन्त्य भएपछि भएको यो दोस्रो निर्वाचन थियो । तर, त्यहाँको सेनाले यो निर्वाचनमा धाँधली भएको भन्दै सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेको थियो । यो मुद्दा त्यहाँका राष्ट्रपति तथा निर्वाचन आयोगका प्रमुख आयुक्तविरुद्ध जारी गरिएको थियो । दुवैले यो अस्वीकार गर्दै आएका छन् ।

म्यानमार स्वतन्त्रताका नायक मानिने आङ साङकी छोरी हुन्, आङ साङ सुकी । बेलायती उपनिवेशबाट म्यानमार सन् १९४८ मा स्वतन्त्र हुनुभन्दा केहीअघि मात्र आङ साङको हत्या गरिएको थियो । त्यति बेला सुकी दुई वर्षकी मात्र थिइन् ।

सन् १९९१ मा सुकीलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो । उनी त्यति बेला पनि नजरबन्दमा रहेकी थिइन् ।


१९ माघ २०७७, सोमवार ०९:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु