कोरोना संक्रमणबाट कांग्रेस युवा नेताको निधन
कोरोना संक्रमणबाट नेपाली काँग्रेस बाराका नेता तथा महासमिति सदस्य मेदनी महतो धानुक (मदन मण्डल) को निधन भएको छ ।
कांग्रेस महासमिति सदस्य मदन मण्डलको गएराति निधन भएको हो । बारा आदर्शकोतवाल गाउँपालिका निवासी मण्डललाई वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा परीक्षणबाट कोरोना पुष्टि भएको थियो ।
शनिबार कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटोमा नै मण्डलको निधन भएको निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश खनालले जानकारी दिए ।
श्वास–प्रश्वासमा समस्या देखिएपछि उनलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गराइएको थियो । तर मण्डललाई कोरोनाको आशंका गरी चेकजाँच गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको र अवस्था जटिल हुने देखिएपछि काठमाडौँ लैजान लागिएको थियो ।
उच्च रक्तचाप र श्वास प्रश्वासका बिरामी रहेका मण्डलमा कोरोना संक्रमण देखिएसँगै थप उपचारका लागि काठमाण्डौ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको खनालले जानकारी दिए ।
मण्डलको निधनप्रति नेपाली काँग्रेस पार्टीले दुःख व्यक्त गरेको छ । पार्टीले निकालेको शोक वक्तव्यमा पार्टी सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना र मृतकको आत्माप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
१६ कात्तिक २०७७, आइतवार १४:०८ बजे प्रकाशित































