यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं। हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा त्यसका प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लागेको छ भने लुम्बिनी प्रदेशको पहाडी भागमा आंशिक बदली भएको छ। तराईका केही स्थानमा तुवाँलो लागेको छ भने बाँकी भागको मौसम सफा छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भेगमा आंशिक बदली रहनेछ। बाँकी भागको मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
त्यसैगरी, आज राति कोशी, मधेश र लुम्बिनी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा आंशिक बदली रहनेछ। बाँकी भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।
२ मंसिर २०८३, बुधवार ०७:०४ बजे प्रकाशित














