सुदूरपश्चिममा सुरक्षा सतर्कता बढाउन मुख्यमन्त्री शाहको निर्देशन

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुनसरीको कप्तानगञ्जमा भएको दुई समूहबीचको झडपपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै प्रदेशका सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाउन निर्देशन दिएका छन्।
मुख्यमन्त्री शाहले जारी गरेको अपिलमा खुला सीमाका कारण हुनसक्ने सम्भावित घुसपैठ तथा अवाञ्छित गतिविधि रोक्न सुदूरपश्चिमका सीमा क्षेत्रमा विशेष निगरानी बढाउन सबै सुरक्षा निकायलाई निर्देशन दिइएको उल्लेख छ। प्रदेशका सबै जिल्ला तहका प्रशासन तथा सुरक्षा निकायलाई समेत पूर्ण पूर्वसतर्कता अपनाउँदै सुरक्षा व्यवस्था चुस्त राख्न निर्देशन दिइएको उनले बताएका छन्।
सुनसरीको कप्तानगञ्जमा भएको झडप र त्यसबाट सिर्जित परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मुख्यमन्त्री शाहले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। उनले घटनामा घाइते भएका सर्वसाधारण तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
मुख्यमन्त्री शाहले नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक विशेषता बोकेको मुलुक भएकाले सामाजिक सहिष्णुता, भाइचारा र सद्भाव कायम राख्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्। उनले कुनै पनि बहानामा हुने हिंसा, आपसी द्वेष र अराजकताले कसैको हित नगर्ने भन्दै सामाजिक, सांस्कृतिक तथा धार्मिक उत्सवहरू मनाउँदा अरूको भावना र शान्तिमा असर नपर्ने गरी मर्यादित रूपमा मनाउन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत अफवाह, घृणास्पद अभिव्यक्ति तथा भ्रामक सामग्री फैलाएर सामाजिक वैमनस्यता सिर्जना नगर्न पनि उनले अपिल गरेका छन्। सार्वजनिक अफवाह फैलाउने तथा गलत सूचना सम्प्रेषण गरी समाजमा उत्तेजना, घृणा र वैमनस्यता फैलाउने जोसुकैलाई कानुनी दायरामा ल्याइने उनले स्पष्ट पारेका छन्।
‘कानुन हातमा लिने, सद्भाव भड्काउने र समाजमा अराजकता फैलाउने तत्वहरूलाई कानुनी दायरामा ल्याउन राज्यका निकायहरू सक्षम रूपमा जुट्नुपर्छ,’ मुख्यमन्त्री शाहले अपिलमा भनेका छन्।
उनले संकटको यस घडीमा नागरिक तथा सरोकारवाला निकायलाई संयम र धैर्यता अपनाउँदै सामाजिक सुरक्षा कायम गर्न स्थानीय तह तथा प्रशासनलाई सहयोग गर्न आग्रह गरेका छन्। साथै, आमसञ्चार माध्यमलाई सामाजिक सद्भावमा आँच आउने खालका सामग्री प्रसारण नगरी सत्य, तथ्य र वस्तुनिष्ठ समाचार मात्र सम्प्रेषण गर्न आग्रह गरेका छन्।
मुख्यमन्त्री शाहले मनसुन तथा वर्षायामका कारण हुनसक्ने बाढी, पहिरो र डुबानजस्ता विपद्को सामना गर्न प्रदेश सरकार पूर्ण तयारी अवस्थामा रहेको पनि बताएका छन्। विपद् पूर्वतयारी, खोज तथा उद्धार, तत्काल राहत वितरण र पुनःस्थापनाका लागि प्रदेश, जिल्ला र स्थानीय तहका सबै संयन्त्रलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिएका छन्।
सम्भावित विपद् जोखिमयुक्त क्षेत्रका बासिन्दालाई पनि पूर्वसतर्कता अपनाउन तथा विगतका अनुभवलाई ध्यानमा राख्दै स्थानीय सरकार र प्रशासनसँग सम्पर्क तथा समन्वयमा रहन मुख्यमन्त्री शाहले आग्रह गरेका छन्।
मुलुकको शान्ति–सुरक्षा र अमनचयन सुदृढ गर्न तथा थप अप्रिय परिस्थिति सिर्जना हुन नदिन सबै तहका सरकार, राजनीतिक दल, स्थानीय बासिन्दा, नागरिक समाज, सामाजिक तथा धार्मिक अगुवा, उद्योगी–व्यवसायी, सामाजिक संघसंस्था र सञ्चारमाध्यमबीच आवश्यक समन्वय, सहकार्य र पहल आवश्यक रहेको उनले बताएका छन्।
मुख्यमन्त्री शाहले आम नागरिकलाई संयमता अपनाउँदै सामाजिक सद्भाव र सहिष्णुता कायम राख्न तथा परापूर्वकालदेखि कायम रहेको आपसी भाइचारा, सहकार्य र सहअस्तित्वको भावना अक्षुण्ण राखेर सामाजिक एकता बलियो बनाउनसमेत अपिल गरेका छन्।
१६ साउन २०८३, शनिवार १६:४७ बजे प्रकाशित































