युद्ध रोक्नका लागि ट्रम्पलाई अमेरिकाभित्रै दबाब

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई महिनादेखि जारी युद्ध अन्त्यका लागि वार्ता गर्न चाहेमा इरानले टेलिफोन गर्न सक्ने बताएका छन् । यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराक्ची राष्ट्रपति भ्लादिमिर पुटिनको समर्थन खोज्न सोमबार रुस पुगेका छन् ।

ट्रम्पले आफ्ना दूतहरू स्टिभ विट्कोफ र जेरेड कुश्नरको इस्लामाबाद भ्रमण रद्द गरेपछि शान्ति प्रयास ब्युँताउने आशा मलीन भएको छ । इरानका विदेशमन्त्री अब्बास अराक्चीले आइतबार मध्यस्थकर्ता राष्ट्रहरू पाकिस्तान र ओमानको भ्रमण गरी रुस प्रस्थान गरेका छन् ।

इरानको आणविक महत्त्वाकांक्षा र रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलयोजकको पहुँच लगायतका मुद्दाहरूमा दुवै पक्ष अझै पनि निकै टाढा देखिएका छन् ।

अमेरिका–इरान शान्ति वार्तामा अवरोध आएपछि र खाडी क्षेत्रको जहाज आवागमन अवरुद्ध भएपछि सोमबार बिहान एसियाली बजारमा तेलको मूल्य बढेको छ भने अमेरिकी स्टक फ्युचर्समा गिरावट आएको छ ।

‘उनीहरू कुरा गर्न चाहन्छन् भने हामीकहाँ आउन सक्छन् वा हामीलाई फोन गर्न सक्छन् । तपाईंलाई थाहा छ, त्यहाँ टेलिफोन छ । हामीसँग राम्रा र सुरक्षित लाइनहरू छन्,’ ट्रम्पले फक्स न्यूजको द सन्डे ब्रिफिङ कार्यक्रममा भने ।

‘सम्झौतामा के हुनुपर्छ भन्ने उनीहरूलाई थाहा छ । यो धेरै सरल छः उनीहरूसँग आणविक हतियार हुनुहुँदैन । अन्यथा, भेट्नुको कुनै औचित्य छैन,’ ट्रम्पले भने ।

इरानले लामो समयदेखि वाशिङटनसँग युरेनियम प्रवर्धन गर्ने आफ्नो अधिकार स्वीकार गर्न माग गर्दै आएको छ । तेहरानले यसलाई शान्तिपूर्ण प्रयोजनका लागि मात्र प्रयोग गर्ने बताए पनि पश्चिमा शक्तिहरूले भने इरानले आणविक हतियार बनाउन खोजेको आरोप लगाउँदै आएका छन् ।

फेब्रुअरी २८ मा इरानमा अमेरिकी–इजरायली आक्रमणबाट सुरु भएको यस द्वन्द्वमा अहिले युद्धविरामले पूर्ण स्तरको लडाइँलाई रोकेको भए पनि युद्ध अन्त्यका शर्तहरूमा कुनै सम्झौता हुन सकेको छैन । यस युद्धले हजारौंको ज्यान लिएको छ, तेलको मूल्य बढाएको छ, मुद्रास्फीतिमा वृद्धि गरेको छ र विश्वव्यापी आर्थिक वृद्धिको दृष्टिकोणलाई अन्योलपूर्ण बनाएको छ ।

एक्सियोसले आइतबार रिपोर्ट गरेअनुसार, इरानले पाकिस्तानी मध्यस्थकर्तामार्फत आर्थिक रूपमा महत्त्वपूर्ण हर्मुज जलयोजक पुनः खोल्ने र युद्ध अन्त्य गर्ने सम्बन्धमा अमेरिकालाई नयाँ प्रस्ताव पठाएको छ जसमा आणविक वार्तालाई पछिल्लो चरणका लागि थाती राखिएको छ ।

अमेरिकी विदेश मन्त्रालय र ह्वाइट हाउसले यस रिपोर्टबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् । उक्त रिपोर्टमा एक अज्ञात अमेरिकी अधिकारी र यस मामिलाको जानकारी भएका दुई स्रोतलाई उद्धृत गरिएको थियो ।

लोकप्रियताको रेटिङ घट्दै गएपछि ट्रम्पले यो अलोकप्रिय युद्ध अन्त्य गर्न आन्तरिक दबाबको सामना गरिरहेका छन् । सैन्य रूपमा कमजोर भए पनि इरानी नेताहरूले विश्वको कुल तेल आपूर्तिको पाँचौं हिस्सा ओगट्ने उक्त जलयोजकमा जहाजको आवागमन रोक्न सक्ने आफ्नो क्षमतालाई वार्ताको लेभरेज बनाएका छन् ।

तेहरानले उक्त जलयोजक लगभग बन्द गरेको छ भने वाशिङटनले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको छ ।
अराक्ची अर्को मध्यस्थकर्ता राष्ट्र ओमानमा आइतबार वार्ता गरेपछि इस्लामाबाद फर्किए र त्यसपछि रुसतर्फ लागे ।

रुसका लागि इरानका दूत काजेम जलालीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै अराक्चीले देशको हित प्रवर्धन गर्न र बाह्य खतराका बीच कूटनीतिक जिहादलाई निरन्तरता दिन पुटिनलाई भेट्ने बताएका छन् ।

‘स्वतन्त्र र न्यायप्रेमी राष्ट्रहरूका साथै एकपक्षीयता र पश्चिमा प्रभुत्वबाट मुक्त विश्व चाहने देशहरूका विरुद्ध विश्वका अधिनायकवादी शक्तिहरूले चलाएको अभियानमा इरान र रुस एउटै मोर्चामा छन्,’ जलालीले भने ।

अराक्चीले पाकिस्तानी अधिकारीहरूलाई भेटिरहँदा ट्रम्पले शनिबार फ्लोरिडामा बोल्दै इरानको प्रस्ताव अपर्याप्त भएकाले धेरै यात्रा र खर्च मात्र हुने ठानेर आफ्ना दूतहरूको भ्रमण रद्द गरेको बताए । इरानले धेरै प्रस्ताव गर्यो, तर पर्याप्त थिएन, उनले भने ।

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले शनिबार पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफसँग फोनमा कुरा गर्दै धम्की वा नाकाबन्दीका बीच तेहरान लादिएको वार्तामा सहभागी नहुने बताएको इरानी विज्ञप्तिमा उल्लेख छ ।

वार्ताकारहरूले सम्झौताको आधार तयार गर्नुअघि अमेरिकाले समुद्री नाकाबन्दी लगायतका अवरोधहरू हटाउनुपर्ने उनले बताए ।

अमेरिका र इरानबीचको असहमति तेहरानको आणविक कार्यक्रम र जलयोजकको नियन्त्रणमा मात्र सीमित छैन ।

ट्रम्प लेबननको हिजबुल्लाह र गाजाको हमास लगायतका क्षेत्रीय प्रोक्सी समूहहरूलाई इरानले गर्ने समर्थन सीमित गर्न चाहन्छन् र ब्यालिस्टिक मिसाइलमार्फत अमेरिकी सहयोगीहरूमाथि आक्रमण गर्ने इरानको क्षमतालाई अंकुश लगाउन चाहन्छन् । इरान भने आफूमाथि लगाइएका प्रतिबन्धहरू हटाउन र हिजबुल्लाहमाथि भइरहेका इजरायली आक्रमणहरूको अन्त्य चाहन्छ ।

लेबनानमा आइतबार इजरायली आक्रमणमा परी १४ जनाको मृत्यु भएको र ३७ जना घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सेनाले बासिन्दाहरूलाई आफूले ओगटेको बफर जोन भन्दा बाहिरका सातवटा शहरहरू छोड्न चेतावनी दिएको छ । युद्धविराम भए पनि शत्रुतापूर्ण गतिविधिहरू पूर्ण रूपमा रोकिन सकेका छैनन् ।


१४ वैशाख २०८३, सोमवार १३:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु