punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गाई पुज्ने समाजको कुरुप ऐना: दूध सकिएपछि सडकमा देवी

Chaupati
safha napa

धनगढी। ​हाम्रो समाजमा गाईलाई लक्ष्मी र माता को दर्जा दिइन्छ । तिहारमा भव्य पूजा गरिन्छ, धार्मिक कार्यमा गौदानको महिमा गाइन्छ। तर, कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको झरझरिया गौशालाको वर्तमान दृश्यले हाम्रो यो श्रद्धा र भक्ति कति खोक्रो छ भन्ने कुरा प्रस्ट पारेको छ । दूध दिउन्जेल लक्ष्मी मानेर घरको भकारोमा बाँधिने गाईहरू जब बुढा हुन्छन्, थारो बस्छन् वा रोगी हुन्छन्, तब तिनलाई सुटुक्क रातिको समयमा लगेर गौशालाको तारबारमा बाँधिन्छ। यो प्रवृत्ति केवल एउटा पशु व्यवस्थापनको समस्या मात्र होइन, बरु हाम्रो मानवीय संवेदना र नैतिक पतनको कुरुप ऐना पनि हो ।

​झरझरिया गौशालाले बर्दगोरियाका सडक र खेतबारीलाई सुरक्षित बनाएको छ । सडक दुर्घटना घटेका छन् र किसानको बाली जोगाउन यसले ठूलो भूमिका खेलेको छ । तर, बाहिरी संसार सुरक्षित बनाउने नाममा गौशालाभित्र आश्रित ती निरीह प्राणीको अवस्था भने अत्यन्तै कारुणिक र हृदयविदारक छ । करोडौँको सरकारी लगानीमा तीनवटा ठूला ट्रष्ट, आधुनिक आहारा खाने डुँड, मुत्र संकलन केन्द्र र मल भण्डारणका संरचनाहरू ठडिएका छन् । तर, विडम्बना ! ती भव्य संरचनाभित्र आश्रय लिइरहेका गाईहरू अहिले आहाराको अभावमा भोकभोकै मृत्युसँग जुधिरहेका छन्। भवन र संरचनाले मात्र गौसेवा हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेको छ झरझरिया गौशाला ।

​यस संकटको अर्को पाटो स्थानीय सरकारको व्यवस्थापकीय लाचारी हो । गाउँपालिकाले वार्षिक १० लाख रुपैयाँ विनियोजन गर्छ, जुन सुन्दा ठूलो रकम लाग्न सक्छ । तर, यसको गहिरो विश्लेषण गर्दा बजेटको झन्डै ९० प्रतिशत हिस्सा अर्थात् ८ लाख ६४ हजार रुपैयाँ त ६ जना गोठालाको पारिश्रमिकमा मात्रै खर्च हुन्छ। बाँकी बचेको न्यून रकमले सयौँ गाईको पेट भर्नु सम्भव नै छैन। गाउँपालिकाले बजेट दिएका छौँ भन्दै जिम्मेवारीबाट पन्छिन खोज्नु र व्यवस्थापन समितिले बजेट अभावमा आहारा स्टक राख्न नसक्नुले अन्ततः ती अबोध प्राणीलाई मृत्युको मुखमा पुर्‍याएको छ। बजेट निकासामा हुने ढिलासुस्ती र कर्मचारीतन्त्रीय झमेलाको मूल्य ती गाईहरूले आफ्नो प्राण दिएर चुकाउनु परिरहेको छ।

​सामाजिक अपराधको पराकाष्ठा त त्यहाँ देखिन्छ, जहाँ स्थानीय पशुपालकहरूले बुढा र रोगी गाईलाई राति लगेर गौशालामा छोड्छन् तर त्यही गौशालामा रहेका ब्याउने वा दूध दिने गाईहरू भने रातारात चोरेर लैजान्छन्। यो स्वार्थले भरिएको समाजको चरित्र हो। गाई दूध र फाइदाका लागि मात्र होइन, बरु एक जीवित प्राणीका रूपमा पनि संरक्षणको हकदार छ भन्ने कुरा हामीले बिर्सिएका छौँ।

​अबको निकास केवल बजेटको अंक थपेर मात्र हुँदैन । गौशालालाई परनिर्भर होइन, आत्मनिर्भर बनाउने सोच आवश्यक छ। संकलित मल र मुत्रलाई व्यावसायिक रूपमा बिक्री गर्ने र गौशालाकै हाताभित्र उन्नत जातको घाँस खेती गर्ने हो भने आहाराको समस्या धेरै हदसम्म समाधान हुन सक्छ। यसका साथै, स्थानीय सरकारले प्रत्येक घरका पशुहरूको लगत राख्ने र छाडा छाड्ने धनीलाई कडा कारबाही गर्ने नीति कडाइका साथ लागू गर्नुपर्छ। गाईको स्वास्थ्य परीक्षणका लागि चिकित्सकको नियमित व्यवस्था र आहाराको स्थायी स्रोत जुटाउनु आजको प्रमुख आवश्यकता हो।

​धर्मको नाममा गाईको पुजा गर्ने तर व्यवहारमा तिनलाई भोकभोकै मार्ने यो द्वैध चरित्रलाई बदल्नुपर्छ। झरझरिया गौशालालाई बधशाला बन्नबाट जोगाउनु बर्दगोरिया गाउँपालिका र यहाँका सचेत नागरिकहरूको साझा दायित्व हो। बेसहारा प्राणीको चित्कारले हाम्रो सुशासन र धर्म दुवैलाई गिज्याइरहेको छ।


८ चैत २०८२, आइतवार ०८:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु