फोहोरलाई जीवनयापनको माध्यम बनाउँदै महिलाहरु

धनगढी। फोहोरबाट हामी प्राय नाक खुम्च्याउँदै छि : भन्दै पन्छिन्छौँ । फोहोरबाट पनि आम्दानी गरेर जीवनयापन गर्न सकिन्छ भनेर हामीले खासै सोच्न सक्दैनौं । तर धनगढीका केही महिलाको भने फोहोर जीवनयापनको साहरा भनेको छ ।

घामको पहिलो किरण धर्तीमा नपर्दै धनगढीको फोहोर व्यवस्थापन केन्द्रमा महिलाहरुको चहलपहल शुरु भैसकेको हुन्छ । हातमा पन्जा, मुखमा मास्क र आँखामा अनेक सपना बोकेर उनीहरू फोहर छुट्याइरहेका हुन्छन्। बाहिरबाट हेर्दा यो केवल फोहरको काम जस्तो लाग्छ, तर भित्र–भित्रै यहाँ उनीहरू फोहोरमा मोहोर खोजिरहेका हुन्छन् ।

अछाम घर भएकी मोना शाह अहिले धनगढीमा बस्छिन्। उनका श्रीमानले अर्काे विवाह गरेर गएको २५ वर्ष भयो।
एक मात्र छोरा पनि बुहारीसहित सम्पर्कविहीन छन्। उनीसँग अहिले दुई नाती छन्। एक १३ वर्षका र अर्को १० वर्षका , नातीहरूको हात समातेर भविष्यको बाटो देखाउने जिम्मा उनकै काँधमा छ। ‘जति सकिन्छ, सास हुँदासम्म उनीहरूलाई पाल्छु। त्यसपछि के हुन्छ थाहा छैन,” मोना भन्छिन्।

फोहर छुट्याउने काम नै अहिले उनको दैनिकी बनेको छ । यही कामले उनको भान्सामा आगो बल्छ, नातीहरूको कापी–कलम र पालन पोषण गर्छिन । मोना भन्छिन् `फोहर व्यवस्थापनको काम नै मेरो जीवन धान्ने एकमात्र आधार बनेको छ।`

उनले मासिक १५ हजार रुपैयाँ कमाउ छिन्। १४ महिनादेखि प्लास्टिक जन्य फोहोर, कुहिने फोहोर, नकुहिने फोहोरलाई उनी वर्गीकरण गर्ने काम गर्दै आएकी छन्। ५७ वर्षको उमेरमा पनि उनीसँग बस्नका लागि घर छैन। धनगढीमा मासिक एक हजार जमिनको भाडा तिर्ने गरेर सानो छाप्रो बनाएको उनले बताइन् ।

बैतडीकी गीता भण्डारीका तीन सन्तान छन्। दुई छोरा र एक छोरी। आर्थिक अभावका कारण छोरीले १२ कक्षापछि पढाइ अगाडि बढाउन सकेकी छैनन्। ‘टोलमा फोहरको काम गर्छे भनेर छिछि–दुरदुर गर्ने पनि छन्,’ उनी भन्छिन्, “तर के गर्नु ? श्रीमान् भारतमा मजदुरी गर्नुहुन्छ, पठाएको पैसा १०–१२ हजार मात्रै हुन्छ। घर भाडा, बच्चाको स्कुल, सासु–ससुराको हेरचाह सबै यही आम्दानीले चलाउनुपर्छ।’
फोहर व्यवस्थापनमा काम थालेपछि घरभाडा तिर्न, बच्चाहरूलाई स्कुल पठाउन र दैनिक खर्च चलाउन सजिलो भएको उनी बताउँछिन्।

महिला सशक्तिकरणसँगै वातावरण संरक्षण
धनगढीको शूक्ष्म वर्गाीकरण केन्द्रले युगदान पुर्याइरहेको छ । कार्यरत कर्मचारीहरूका अनुसार यस्ता कथा धनगढीका धेरै घरपरिवारका छन्। यस कार्यक्रमले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुका साथै उनीहरुको आत्मविश्वास पनि बढाएको छ।
पहिले घरभित्र सीमित महिलाहरू अहिले सार्वजनिक क्षेत्रमा खुलेर काम गरिरहेका छन्। फोहर छुट्याउने, पुनः प्रयोगयोग्य सामग्री अलग गर्ने, प्लास्टिक, कागज र धातुजन्य वस्तुको व्यवस्थापन गर्ने कामले उनीहरूलाई नयाँ सीप दिएको छ। जसले वातावरण संरक्षणमा पनि सकारात्मक योगदान पु¥याएको छ। केन्द्रमा एक सय ५० जनामा अधिकाँस महिला छन्।

सामाजिक दृष्टिकोण अझै चुनौती
यद्यपि फोहर व्यवस्थापनको काम सधैं सहज छैन। समाजका केही व्यक्तिहरूले फोहरसँग जोडिएको कामलाई हेप्ने र तिरस्कार गर्ने व्यवहार देखाउने गरेको महिलाहरूको गुनासो छ।
एक महिला कामदार भन्छिन्, “काम गर्दा समाजले कहिलेकाहीँ राम्रो नजरले हेर्दैन। तर आफ्नै मेहनतले परिवार पाल्न सक्नु ठूलो कुरा हो।”

वार्षिक ८० लाख बढी राजश्व संकलन
फोहर व्यवस्थापनबाट धनगढी उपमहानगरपालिकाले गरिरहेको छ । पुनः प्रयोगयोग्य सामग्री बिक्री, व्यवस्थापन शुल्कलगायत आम्दानीका स्रोत हुन् । केन्द्र सञ्चालकका अनुसार वार्षिक करिब १ करोड रुपैयाँ खर्च हुँदा नगरपालिकालाई ८० लाख रुपैयाँ बुझाइन्छ। विगतमा चार करोड खर्च हुने ठाउँमा अहिले चार करोड ८० लाख रुपैयाँ बराबरको लाभ उपमहानगरपालिकाले लिइरहेको छ।
उनका अनुसार एडीबीको सहकार्यमा फोहरबाट ब्लक, दाना लगायतका उत्पादन गर्ने मेसिन आउने तयारी छ, जसले फोहरको मूल्य अझै बढाउनेछ।

समग्रमा धनगढीको फोहर व्यवस्थापन कार्यक्रम महिला सशक्तिकरण, रोजगारी सिर्जना, वातावरण संरक्षण र आर्थिक विकासको सफल उदाहरण बनेको छ।
सामाजिक दृष्टिकोणमा भने अझै सुधार आवश्यक छ । सम्मानजनक व्यवहार, सुरक्षित काम गर्ने वातावरण र सामाजिक स्वीकृति दिन सकेमा यो कार्यक्रम अझ प्रभावकारी बन्ने सरोकारवालाहरूको विश्वास छ।
धनगढी उपमहानगरपालिकाले पछिल्ला वर्षहरूमा अपनाएको नयाँ फोहर व्यवस्थापन नीति र कार्यशैलीले नगरको सरसफाइ मात्र होइन, महिलाहरूको आर्थिक तथा सामाजिक जीवनमा पनि उल्लेखनीय परिवर्तन ल्याएको छ।

‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानलाई सरसफाइमा सीमित नराखी रोजगारी, आयआर्जन र दिगो विकाससँग जोडेर अघि बढाएपछि फोहर व्यवस्थापनमा महिलाहरूको सहभागिता उल्लेख्य रूपमा बढेको हो।

धनगढीका विभिन्न वडा र टोलबाट संकलन गरिएको फोहरलाई एकीकृत रूपमा एक स्थानमा ल्याई वर्गीकरण, भण्डारण र व्यवस्थापन गर्ने प्रणाली लागू गरिएको छ। यस प्रक्रियामा महिलाहरू अग्रपंक्तिमा छन्। हाल करिब ८० देखि ९० जना महिला र पुरुष फोहर संकलन तथा व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न छन्। उनीहरूले महिनामा करिब १५ हजारदेखि २० हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन्। यो आम्दानी धेरै महिलाका लागि जीवनयापनको मुख्य आधार बनेको छ।


१८ माघ २०८२, आइतवार ०९:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु