punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा प्रदेशस्तरीय सिप तथा रोजगार मेला २०८२ भव्य रूपमा शुभारम्भ

Chaupati
safha napa

धनगढी।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीले धनगढी उपमहानगरपालिकाको आयोजनामा सुरु भएको प्रदेशस्तरीय सिप तथा रोजगार मेला–२०८२ को आज औपचारिक रूपमा उद्घाटन गरेका छन्। माघ ५ गतेदेखि सुरु भएको मेला धनगढी उपमहानगरपालिका–१ स्थित खुलामञ्चमा सञ्चालन भइरहेको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले युवायुवतीलाई सीपयुक्त बनाउँदै स्वदेशमै रोजगारी सिर्जना गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताए। सीप विकास र रोजगारबीचको दूरी घटाउन यस्ता मेलाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले स्थानीय तहको सक्रियताले रोजगारी प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

मेलाको उद्देश्य सुदूरपश्चिम प्रदेशका युवायुवतीलाई सीप विकासमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्नु रहेको छ। मेलाअन्तर्गत ७ वटा मुख्य क्षेत्रका २२ प्रकारका सिपमूलक तालिम सञ्चालन गरिनेछ। प्रत्येक तालिममा २५ जनाका दरले प्रशिक्षार्थी छनोट गरि सहभागी गराईएको छ। यस वर्ष कुल ६ सय जनालाई तालिम प्रदान गर्ने लक्ष्य लिइएको छ।

कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सुदूरपश्चिमका युवायुवतीलाई सीपसहित आत्मनिर्भर बनाउने उद्देश्यले मेला आयोजना गरिएको बताए। उनका अनुसार यस वर्षको मेलाका लागि प्रदेशभरबाट ३ हजार ८ सय २ जनाले आवेदन दिएका थिए। आवेदनमध्ये सबैभन्दा धेरै एड्भान्स ब्युटिसियन तालिममा परेको मेयर हमालले जानकारी दिए।

आवेदन दिनेहरूमध्ये करिब २ हजार २ सय महिला, करिब १५ सय पुरुष तथा बाँकी लैङ्गिक तथा यौनिक अल्पसंख्यक समूहका आवेदक रहेका छन्। सबैभन्दा धेरै आवेदन धनगढी उपमहानगरपालिका क्षेत्रबाट परेको जनाइएको छ।

३० दिनसम्म सिप विकाससम्बन्धी तालिम सञ्चालन गरिनेछ भने त्यसपछि थप १० दिन रोजगारीमा जान चाहने प्रशिक्षार्थीहरूका लागि रोजगार परामर्श कार्यशाला र आफ्नै व्यवसाय सुरु गर्न इच्छुकहरूका लागि उद्यमशीलता विकास तालिम प्रदान गरिनेछ। तालिम सम्पन्न भएपछि रोजगारदाता सम्मेलन आयोजना गरी दक्ष जनशक्ति आवश्यक परेका संस्था तथा कम्पनी र प्रशिक्षार्थीहरूबीच प्रत्यक्ष समन्वय गराइने मेयर हमालले बताए।

कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला रानाले सबै पालिकाका युवायुवतीलाई समेटिएको बताइन्। गत वर्ष तालिम लिएका करिब ५० प्रतिशत सहभागीले रोजगारी पाएको तथ्यले यस वर्ष थप हौसला मिलेको उनको भनाइ छ। महिला आवेदकको संख्या उल्लेख्य रहेकाले कार्यक्रमले महिलाको आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरिन्।

उद्घाटन कार्यक्रममा सुदूरपश्चिमा विभिन्न पालिकाका जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको छ। साथै कार्यक्रममा  बाजुराको भुवा नाच, अछामको रनपुतला नाच, राना थारू  समुदायको होरी नाच, बैतडीको छलिया नाच, डगौरा थारूको नाच, प्रस्तुत गरिएको थियो।


५ माघ २०८२, सोमवार १४:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु