गोदावरी–५ गेटामा आगलागी, डेढ करोडभन्दा बढीको क्षति
धनगढी। गोदावरी नगरपालिका–५, गेटामा अवस्थित निशा देउबा ट्रेडर्स एण्ड सप्लायर्समा आज बिहान भीषण आगलागी हुँदा झन्डै डेढ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। बिहान करिब ६ बजे विद्युत मिटर सर्ट भएर सुरु भएको आगोले केही मिनेटमै नियन्त्रणबाहिर गएर व्यापारीक कोठाहरू पूर्ण रूपमा नष्ट गरेको सञ्चालक मिना देउवाले जानकारी दिइन्।
उनका अनुसार आगलागीले दुईवटा कोठाभित्र भण्डारण गरी राखिएको सम्पूर्ण सामान जलेर खरानी बनेको छ। साथै पसल रहेको घरको संरचनामा समेत ठूलो भौतिक क्षति पुगेको छ।
आगलागीपछि स्थानीयवासी र सुरक्षाकर्मीहरूको सहकार्यमा आगो निभाइए पनि सबै सामान बचाउन भने नसकिएको सञ्चालक देउवाले बताइन्। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
१७ मंसिर २०८२, बुधवार १२:३४ बजे प्रकाशित












