नेपाली कम्युनिस्ट पार्टीको आजदेखि सातै प्रदेशमा सन्देश सभा, सुरुवात सुदूरपश्चिमबाट गर्दै
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीको प्रदेशस्तरीय सन्देश सभा आज (शुक्रबार) देखि सुरू हुने भएको छ। कात्तिक १९ गते १० वटा कम्युनिस्ट घटकहरू एकीकृत भएको नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा एकताको सन्देश दिन आजदेखि सभा गर्न लागको हो।
पहिलो दिन शुक्रबार सुदूरपश्चिम प्रदेशमा सन्देश सभा हुँदैछ। सुदूपश्चिम सन्देश सभा धनगढीमा आयोजना हुनेछ।
सन्देश सभाको आयोजनाको जिम्मा पार्टीको सुदूरपश्चिम प्रदेश समितिलाई दिइएको छ।
सन्देश सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपालसहित शीर्ष नेता र प्रदेश तहका नेताहरूले गर्नेछन्।
लुम्बिनीको देउखुरीमा मंसिर १३ गते, गण्डकीको पोखरामा मंसिर १४ गते, कोशीको विराटनगरमा मंसिर १५ गते सभा हुनेछ।
साथै कर्णालीको सुर्खेतमा मंसिर १८ गते, मधेसको जनकपुरमा मंसिर २० गते र बागमतीको हेटौंडामा मंसिर २३ गते सभा हुनेछ। मंसिर २९ गते देशभरका पालिकाहरूमा एकता सन्देश सभा हुनेछ।
कात्तिक १९ यता ६ वटा पार्टी तथा त्यसका विद्रोही समूहहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्। भीम रावल, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू पनि नेकपामा समाहित भएका छन्।

१२ मंसिर २०८२, शुक्रवार ०९:४४ बजे प्रकाशित













