खान पुगोस् दिन पुगोस् अभियानद्वारा डडेल्धुरामा विद्यार्थीलाई पोसाक वितरण
डडेल्धुरा। डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर ४ मा रहेको दुर्गा प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ ।
समाजसेवी तथा युवा व्यवसायी घनश्याम भट्ट नेतृत्वको ‘खान पुगोस् दिन पुगोस’ अभियान अन्तर्गत पहाडी जिल्लामा सुरु गरेको ‘विद्यार्थीसंग हामी’ कार्यक्रमले विद्यालयमा रहेका १८ जना बालबालिकाहरुलाई विद्यालय पोशाक हस्तान्तरण गरिएको हो ।
खान पुगोस् दिन पुगोस् अभियान अन्तर्गत सुदूरपश्चिम प्रदेशका पडाडी जिल्लामा गरिव, विपन्न, दलित बर्गलाई लक्षित गरि ‘विद्यार्थीसंग हामी’ कार्यक्रमको सुरुवात गरिएको अभियानका संयोजक भट्टले बताएका छन् । सोही कार्यक्रम अन्तर्गत आइतबार डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर १ मा रहेको दुर्गा प्राथमिक विद्यालयमा अध्ययनरत १८ बालबालिकालाई ड्रेस,बेल्ट टाई वितरण गरिएको संयोजक भट्टले बताएका छन् ।
सकारात्मक सोच भएका युवाहरुको पहलमा आर्थिक संकलन गरि पहाडी जिल्लामा ‘विद्यार्थीसंग हामी’ कार्यक्रम थालिएको र दुरदराजमा रहेका विद्यालयमा पुगेर गरिव विपन्न विद्यार्थीलाई सहयोग गरिने संयोजक भट्टले जानकारी दिएका छन् ।
विद्यालयका प्रधानाध्यापक खडक बहादुर बिष्टले विद्यालयमा विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्दै आएको बताएका छन् । स्वस्फूर्त रुपमा युवाले आर्थिक संकलनबाट आफ्नो विद्यालयमै आएर बालबालिकाले पोशाक सहयोग पाउँदा निकै खुसी लागेको प्रधानाध्यापक बिष्टले बताए ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरू नयाँ पोसाक पाएपछि खुसी भएका थिए ।कार्यक्रममा समाजसेवी, सुरक्षाकर्मी, जनप्रतिनिधि लगायत अभिभावकहरुको सहभागीता रहेको थियो ।
२९ वैशाख २०८२, सोमवार ०८:३९ बजे प्रकाशित












