अमरगढी–६ का वडाध्यक्षमाथि कुटपिट, प्रहरीमा दुवै पक्षको उजुरी

डडेल्धुरा । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–६ का वडा अध्यक्ष केबी ताम्राकारलाई कुटपिट गरिएको छ । उनीमाथि बिहीबार साँझ वडा नम्बर ७ को पोखराबाट घर फर्किने क्रममा भजनपुरस्थित वडा कार्यालय नजिकै कुटपिट गरिएको हो । स्थानीय सुरेश खड्काका छोरा सन्देश खड्काले कुटपिट गरेको भनिएको छ ।
कुटपिटबाट घाइते वडाध्यक्ष ताम्राकारको डडेल्धुरा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ । घटनाप्रति अमरगढी नगरपालिकाले पनि विज्ञप्ति जारी गर्दै घोर भर्त्सना र दुःख व्यक्त गरेको छ । “नागरिकको सेवामा अहोरात्र खटिएको जनप्रतिनिधिलाई गुण्डागर्दी शैलीमा कुटपिट गर्नु कानूनी राज्यको उपहास हो,” विज्ञप्तिमा भनिएको छ । दोषीलाई चाँडै पक्राउ गरी कारबाही अगाडि बढाउन नगरपालिका परिवारले माग गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार दुवै पक्षले उजुरी दिएका छन् । घटनाबारे प्रहरीलाई ढिलो जानकारी गराइएको हुँदा प्रारम्भिक अनुसन्धानको काम भइरहेको र दुवै पक्षलाई छलफलका लागि बोलाउन केही कठिनाइ भएको बताइएको छ।
त्यसैगरी, पीडक भनिएको पक्षले भने वडाध्यक्ष आफैँ मादक पदार्थ सेवन गरी गालीगलौज गरेपछि कुटपिट गरिएको दाबी गरेका छन् । खड्काले आफूलाई गाली गरेकाले वडाअध्यक्षलाई कुटेको भन्दै स्वयम् प्रहरी चौकीमा खबर गरेको समेत बताइएको छ ।
हाल आरोपी भनिएका सन्देश खड्का फरार रहेका छन् भने प्रहरीद्वारा खोजी कार्य जारी छ ।
१२ वैशाख २०८२, शुक्रवार २२:५२ बजे प्रकाशित