‘सीप तथा रोजगार मेलाले स्वरोजगार र आत्मानिर्भर बनाउने विश्वास जाग्यो’

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सीप तथा रोजगार मेला जारी छ । धनगढी उपमहानगरपालिकाको आयोजनामा ८ फागुनदेखि सञ्चालन भएको मेलामा २९ विधामा तालिम चलिरहेका छन् । सुदूरपश्चिम प्रदेशका ३९ स्थानीय तहबाट एक हजार ४० जना सहभागी भएको सीप तथा रोजगार मेलामा उपमहानगरपालिकाले दैनिक बिहान र दिउँसो गरेर दुई चरणमा तालिम प्रदान गरिरहेको छ ।

सीप तथा रोजगार मेलामा सहभागी भएर तालिम लिइरहेका युुवाहरुमा उत्साह देखिएको छ । उपमहानगरपालिकाले यसअघिदेखि नै आवद्ध रहेको विधामा सीप सिकाइरहेकाले निखारता ल्याउने र त्यसले आत्मानिर्भर बनाउने उनीहरुको विश्वास रहेको छ ।

एडभान्स ब्युटिसियनको तालिम लिइरहेकी धनगढी उपमहानगरपालिका–५ की आयुशा वाग्लेले इच्छा भएर पनि सीप सिक्न पाएकी थिइनन् तर उपमहानगरपालिकाले सीप तथा रोजगार मेला आयोजना गर्ने कुरा थाहा पाएपछि फारम भरिन् । छनौटमा समेत परेपछि अहिले निःशुल्क तालिम लिइरहेकी छन् ।

रोजगार मेलामा दिउँसोको सिफ्टमा तालिम लिइरहेकी वाग्लेले एडभान्स तहको तालिम निःशुल्क लिने अवसर पाउँदा खुसी लागेको बताउँदै तालिम निकै प्रभावकारी भइरहेको सुनाइन् । ‘हामी जस्तो हाउस वाईफलाई जागिर गर्न गाह्रो हुन्छ । ब्युटिसियनमा काम गर्ने र तालिम लिने ठूलो इच्छा भएर पनि आर्थिक अभावका कारण डिप्लोमा तहको तालिम लिन पाएको थिएन,’ उनले भनिन्, ‘तर धनगढी उपमहानगरपालिकाले निःशुल्क तालिम दिइरहेकाले धेरै खुसी लागेको छ । सिकाइ पनि प्रभावकारी छ । अब यहाँ सिकेको सीपलाई आफूूमा मात्र सिमित नराखेर अरुलाई पनि सिकाउनेछु ।’ उनी अहिले एडभान्स ब्युटिसियन अन्तरगत नेल र मेकअपको तालिम लिइरहेकी छन् ।

धनगढी–४ का लवराज भट्ट पनि रोजगार मेलामा कम्प्युटर हार्डवयर तथा नेटवर्किङ सम्बन्धी तालिम लिइरहेका छन् । दैनिक चार घण्टा तालिम लिइरहेका भट्टलाई यहाँ सिकेको सीपले आत्मानिर्भर बनाउने विश्वास लागेको छ । ‘मैले दैनिक चार घण्टा कम्प्युटर हार्डवयर तथा नेटवर्किङ सम्बन्धी कक्षा लिइरहेको छु । हार्डवयर तथा नेटवर्किङ सम्बन्धी तालिम लिने इच्छा पूूरा भएको छ,’ भट्टले भने, ‘बेरोजगार भएका कारण पनि सीप सिकेर आत्मानिर्भर भइन्छ की भन्ने अपेक्षा पनि हो । अब सीपकै माध्यमबाट आर्यआर्जन पनि गर्न सकिन्छ भन्ने लागेको छ ।’

डोटीका सुवास बोहरा पनि लेखा व्यवस्थापन सम्बन्धी तालिम लिइरहेका छन् । धनगढीको ऐश्वर्य बहुुमुुखी क्याम्पसमा अध्ययनरत बोहराले सैद्धान्तिक रुपमा सिकेका कुराहरुलाई प्रयोगात्मक कक्षाको माध्यमबाट सिक्ने अवसर प्राप्त भएको बताए ।

‘तालिमले आफूूहरुलाई सक्षम बनाउने विश्वास गर्दै बोहराले सहजै रोजगारी समेत पाइने अपेक्षा गरेका छन् । क्याम्पसमा धेरै सैद्धान्दिक कुराहरु पढेका छौँ । तालिममा प्रयोगात्मक रुपमा सिक्ने अवसर पाएका छाँै,’ बोहराले भने, ‘सीप सिकेपछि कुनै पनि संघसंस्थामा काम गर्न सजिलो हुुन्छ । सक्षम हुुन्छौँ भन्ने विश्वास गरेका छौँ ।’

अटोक्याडको तालिम लिइरहेका बझाङको थलारा गाउँपालिका–६ का एलिस चौहानले पनि तालिम सिकाइ प्रभावकारी भएको बताउँदै सीप निखारिएपछि सहजै रोजगारी पाउने विश्वास गरेका छन् । ‘यो तालिममा सहभागी भएर प्रभावकारी सिकाइ भइरहेको छ । यसपछि जे पनि गर्न सकिन्छ । कतै कन्सल्टेन्सीतिर जागिर गर्न मिल्यो,’ उनले भने, ‘स्वयंमले पनि अरुलाई तालिम दिन सकिन्छ नी । आत्मानिर्भर बन्न पाइन्छ भन्ने विश्वास लागेको छ ।’

धनगढीकै सिताकुमारी कुँवर ब्युटिसियन सम्बन्धी प्रशिक्षक पनि हुन् तर उपमहानगरपालिकाले सञ्चालन गरेको सीप तथा रोजगार मेलामा भने उनी प्रशिक्षार्थीका रुपमा सहभागी छिन् । खासगरी हेयर कटिङ र हेयर डिजाइनिङ सम्बन्धी तालिम लिइरहेकी कुँवरले सिजरलाई अहिलेसम्म एउटा कैचीका रुपमा मात्रै बुझेको तर तालिममा सहभागगी भएपछि धेरै कुरा सिक्ने मौका मिलेको बताइन् । आफू प्रशिक्षक समेत भएकाले रोजगार मेलामा सिकेका कुराहरु अरुलाई पनि सिकाउने योजना उनको छ ।

‘सिकाउने तरिका राम्रो छ । पहिले अरु ठाउँ पनि सिकेको थिए तर यहाँ धेरै नै प्रभावकारी लाग्यो । सिजर एउटा कैची हो भन्ने थाहा थियो तर अहिले प्रत्येक कुरा सिकेका छौँ,’ कुँवरले भनिन्, ‘यो कक्षा नलिएको भए अवसर गुुम्ने थियो जस्तो लाग्छ । मेरो आफ्नै ब्युटि पालर पनि छ । अब यहाँ सिकेको कुराहरु अरुलाई सिकाउछुु ।’

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले युवा जनशक्तिलाई सीपयुुक्त र स्वरोजगार बनाउने उद्देश्यले सीप तथा रोजगार मेला आयोजना गरिएको बताए । उनले बेरोजगार युवालाई सीप सिकाउने योजना अन्तरगत सञ्चालन गरिएको मेलाको अवलोकन गरेर सुधार गर्नुपर्ने कुराहरुमा सुझाव दिन पनि आग्रह गरेका छन् ।

‘बेरोजगार युवालाई सीप सिकाउने योजना अन्तरगत सञ्चालन फागुन ८ गतेदेखि रोजगार मेला आयोजना गरेको छाँै । मेलाको अवलोकनका लागि सबैलाई अनुरोध गर्दछु,’ हमालले भने, ‘विशेषगरि युवा साथीहरु मेलामा गएर अध्ययन गर्नुहोस् की अगामी दिनमा कुन कुन खालको तालिम आवश्यक छ । सुझाव दिनुहोस् ।के–के कुरामा सुधार गर्नुपर्छ । त्यो सुझाव पनि दिनुहोस् ।’
हमालले विद्यार्थी, युवा र अभिभावक सबैलाई मेलामा निःशुल्क रुपमा तालिम सञ्चालन र अवलोकनको व्यवस्था मिलाएर सहभागी भएर अवलोकन गर्न सार्वजनिक अपिल गरेका छन् ।


२२ फागुन २०८१, बिहीवार १३:०७ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु