सिरिया र लेबनानमा रहेका शान्ति सेनाको उद्धारका लागि योजना बन्दैछ : प्रधानसेनापति सिग्देल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको आपत्कालीन उद्धारका आवश्यक योजना तयार भइरहेको बताएका छन् । रक्षा मन्त्रालयमा हिजो(मंगलबार ) भएको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रधानसेनापति सिग्देलले सिरिया र लेबनामा अहिले युद्ध चर्किरहेको र नेपाली शान्ति सेनाहरू त्यहाँ रहेको भन्दै उनीहरूलाई आपत्कालीन उद्धार आवश्यक भएको खण्डमा उद्धारका लागि आपत्कालीन योजना नेपाली सेना र रक्षा मन्त्रालयको समन्वयमा बनाइरहेको बताए ।
उनले इजरायल र लेबनानमा अहिले चरमपन्थी समूह हिजबुल्लाहबिच युद्ध जारी रहेको बताए ।  संयुक्त राष्ट्रसंघको शान्ति मिसन (युनिफिल) अन्तर्गत लेबनानमा खटिएका नेपाली शान्ति सैनिक केही असहज अवस्थामा रहेको भएपनि सुरक्षित रहेको उनले बताए ।

उनले भने, ‘५२ जना सिरियामा छन् । १३२९ जनाको फौज शान्ति सेनामा छ । १३२९ जनामध्ये अहिले अलिकति अप्ठ्यारो स्थितिमा रहेका सैनिकहरू भनेको केही मात्रै छन् । उनीहरूको अवस्थाको हकमा सुरक्षाको दृष्टिकोणले हेर्ने हो भने लडाइँ भइरहेको ठाउँ हो । उनीहरू द्वन्द्वको बिचमा छन् । गोली हानाहान भइरहेको क्षेत्रमा छन् । सामान्य अवस्थाको भन्दा सुरक्षाको स्थिति अलिकति असहज छ । तर त्यो असहज स्थितिमा पनि उनीहरू पूर्णतया सुरक्षित छन् ।’

प्रधानसेनापति सिग्देलले शान्ति सेनामा रहेका नेपाली सैनिकलाई अप्ठ्यारो पार्ने सम्भावना भने कम रहेको दाबी गरे ।


७ कात्तिक २०८१, बुधवार ०९:४६ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु