इरानले गर्यो इजरायलमा मिसाइल आक्रमण
इरानले इजरायलमा मिसाइल आक्रमण सुरु गरेको छ।
इरानद्वारा ब्यालिस्टिक मिसाइल आक्रमणको सूचना पाएपछि इजरायलले आफ्ना नागरिकलाई सुरक्षित स्थानमा बस्न भनेको छ। मानिसहरुलाई सुरक्षित बस्न देशैभरि चेतावनी घन्टी (साइरन) बजाइएको छ।
अहिलेसम्म कुनै मानवीय क्षति नभएको र आफ्ना नागरिकलाई सुरक्षित राख्न सक्षम रहेको प्रतिक्रिया त्यहाँका सुरक्षा अधिकारीहरुले दिएको अल जजिराले उल्लेख गरेको छ। इरानको रिभोलुसनरी गार्ड्सले इजरायलमा मिसाइल आक्रमण हिजबुल्लाह प्रमुख हसन नसरल्लाह र यस वर्षको सुरुमा हमास नेता इस्माइल हनियाहको हत्याको प्रतिक्रियामा भएको बताएको छ।
यसैबीच इजरायली सेनाले लेबनानमा आक्रमण गरेको छ, जसलाई इजरायली सेनाले हिजबुल्लाहविरुद्ध ‘सीमित, स्थानीय र लक्षित’ भूमि अपरेसन भनेको छ।यसलाई लेबनानी प्रधानमन्त्रीले आफ्नो देशको सबैभन्दा खतरनाक चरणमध्ये एक भनी टिप्पणी गरेका छन् र १० लाख मानिस विस्थापित भएको बताएका छन्।
१६ असोज २०८१, बुधवार ०४:३४ बजे प्रकाशित













