अछाममा सरकारी मोटरसाइकलमा मादक पदार्थ सेवन गर्नेहरूको मस्ती
अछाममा सरकारी मोटरसाइकलमा मादक पदार्थ सेवन गर्नेहरूले मस्ती गर्ने गरेको विषय सार्वजनिक भएको छ। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाका मोटरसाइकलमा सवारमध्ये राति मादक पदार्थ सेवन गर्नेहरूले मस्ती गर्ने गरेको विषय सार्वजनिक भएको छ।
गाउँपालिकाको वडा नम्बर २ का वडाअध्यक्ष नेत्रबहादुर साउँदले प्रयोग गर्दै आएको से १ ब १५८० नम्बर र गाउँपालिकाका प्रवक्ता मोहनलाल ताम्राकारले प्रयोग गर्दै आएको सुदूरपश्चिम प्रदेश ०१–००१ ब ००३७ नम्बरको सरकारी मोटरसाइकल बयालपाटा प्रहरी चौकीले विहिबार राति २ बजे नियन्त्रणमा लिएको अछाम प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक इश्वरी भण्डारीले मदिरा सेवन गरेर मध्यरातमा सरकारी मोटरसाइकल चलाएको भेटिएपछि नियन्त्रणमा लिएको बताए। उनले भने, ‘सरकारी मोटरसाइकलमा सवार रहेकाहरूले मापसे गरेको भेटियो। एक निजी गाडी खाल्डोमा समेत परेको थियो। सरकारी गाडी मापसेका कारण नियन्त्रणमा लिएका हौ।’
जिल्लाको मेल्लेख गाउँपालिकाको नन्देगडामा अनन्ते मेला हेर्न वडाअध्यक्ष साउँद र प्रवक्ता ताम्राकारको सरकारी मोटरसाइकल प्रयोग भएको छ। सरकारी मोटरसाइकल बिदाको दिनमा प्रयोग भएको र मादक पदार्थसमेत सेवन गरेको प्रहरीले फेला पारेपछि जनप्रतिनिधिहरूले गुपचुपमा नै मिलाउन दबाब दिने गरेका छन्। बयलपाटा प्रहरीले निजी मोटरसाइकल दुर्घटना भएको विवरण दिएको थियो।
बयलपाटा प्रहरीले जिल्लामासमेत पूर्ण विवरण पठाएको थिएन। बयलपाटा प्रहरीले शुक्रवार बिहान ४ बजे सुदूरपश्चिम प्रदेश ०१–०१० प ५१०७ नम्बरको मोटरसाइकल साँफेबगर नगरपालिका–८ बयलपाटामा अनियन्त्रित भएको विवरण पठाएको छ। जिल्लाको बान्नीगढी–जयगढ गाउँपालिका–३ का २५ वर्षीय श्यामलाल विश्वकर्माले चलाएको मोटरसाइकल दुर्घटना भएको पयलपाटा प्रहरीले बताएको छ।
उक्त मोटरसाइकलमा सवार राजेन्द्र ठगुन्ना घाइते भएका थिए। प्रहरीले समेत सरकारी मोटरसाइकलको विषय लुकाएको थियो। बान्नीगढी–जयगढ गाउँपालिकाका प्रवक्ता मोहनलाल ताम्राकारले मोटरसाइकल गाउँपालिकाले प्रहरी चौकीबाट बुझेको बताए। उनले कर्मचारीसमेत रहेका राकेश थापा र श्यामलाल विकले सरकारी मोटरसाइकल चलाएको बताए।
४ असोज २०८१, शुक्रवार १७:२९ बजे प्रकाशित