अस्थिरताबाट मुलुक जोगाउन दुई ठूला दल मिलेको हो : प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले मुलुक जोगाउन दुई ठूला दल मिलेको बताएका छन् । सोमबार डडेल्धुराको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अस्थिरताबाट मुलुक जोगाउन दुई ठूला दल कांग्रेस –एमालेबीच सहकार्य भएको बताएका हुन । ‘थोरै समयमा पटक–पटक सत्ता परिवर्तन भयो । प्रचण्डजीमा एमाले र कांग्रेसको सहयोगले प्रधानमन्त्री हुने आफू नै हो भन्ने मानसिकता विकसित भयो र त्यसले अस्थिरताको परिवेश निर्माण भयो,’ पूर्वअर्थमन्त्रीसमेत रहेका महतले भने, ‘अस्थिरताबाट देशलाई जोगाउन एमाले र कांग्रेस एक ठाउँमा उभिएका हुन्। कतिपय दुई ठूला प्रतिस्पर्धीले मिलेर सरकार बनाएको उपयुक्त भएन भन्ने पनि छन्। तर यो परिस्थितिले निम्त्याएको परिणाम हो ।’
उनले कांग्रेस–एमालेको गठबन्धन सरकारले मुलुकलाई स्थिरतातर्फ लैजाने दाबी गरे । जनतालाई निराशा पार्ने छुट अहिलेको सत्ता गठबन्धनलाई नभएको उनको भनाइ छ ।
२४ भदौ २०८१, सोमवार १७:१३ बजे प्रकाशित