माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र बेलायती राजदूत फेनबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनबीच भेटवार्ता भएको छ ।

शुक्रबार बिहान खुमलटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले नेपालको प्रतिनिधिसभाले पीडितमैत्री न्यायमा जोड दिँदै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको बताएका थिए । अध्यक्ष प्रचण्डले पीडितमैत्री न्याय र सम्मानका लागि आवश्यक पर्ने क्षेत्रमा बेलायत सरकारको सहयोग रहने विश्वास व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले आफू सरकारको नेतृत्वमा रहँदा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउन पहल लिएको बताउँदै विधेयक निष्कर्षमा पुग्दा त्यसले विश्वशान्तिका निम्तिसमेत योगदान पुग्ने बताए । राजदूत फेनले नेपालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगोमा पुर्‍याउन लागेकोमा खुसी व्यक्त गर्दै शान्ति प्रकियाको पूर्णताका निम्ति बेलायत सरकारको पूर्ण सहयोग रहने बताए ।

राजदूत फेनले अध्यक्ष प्रचण्डको बलमा शान्ति प्रक्रियाले पूर्णता पाएकोमा बधाई दिँदै नेपालका लागि आवश्यक सहयोगमा बेलायतको सधै सहयोग रहने बताएका थिए । भेटमा क्रममा अध्यक्ष प्रचण्डले गोर्खालीहरूले उठाउँदै आएका सवालहरू बेलायती सरकारबाट सम्बोधन हुने विश्वाससमेत व्यक्त गरेका थिए ।


३२ साउन २०८१, शुक्रवार ११:३१ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु