सुदूरपश्चिम प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान
काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले आइतबार दिउँसो २ बजे प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गरेका छन् ।
प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुखले प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सरकारले तीन दिनअघि मात्रै प्रदेशसभाको चालु चौथो अधिवेशन अन्त्य गरेर अस्ति बिहीवार राजश्व सङ्कलनसम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेश प्रदेश प्रमुखबाट बिहीवार नै प्रमाणीकरण भइसकेको छ ।
अध्यादेश प्रमाणीकरणसँगै बजेट पारित हुन नसकेर रोकिएको प्रदेश सरकारको कर सङ्कलनसम्बन्धी काम अगाडि बढेको छ । बजेट पारित हुन नसकेर प्रदेश सरकार मातहतका कार्यालयको कर सङ्कलन लगायतको काम ठप्प भएको थियो ।
तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि प्रदेशसभामा असार १ गते प्रस्तुत बजेट पारित हुन नसकेर अलपत्र परेको थियो ।
२६ साउन २०८१, शनिवार १०:१० बजे प्रकाशित