उच्च अदालतको मुख्य न्यायाधीशमा बागचन्द, ३५ जिल्लामा न्यायाधीश सिफारिस
काठमाडौं । न्यायपरिषदले उच्च अदालतका न्यायाधीश डा.रत्नबहादुर बागचन्दलाई उच्च अदालतको मुख्य न्यायाधीशमा बढुवा गरेको छ ।
उच्च अदालतको वीरगञ्ज अस्थायी इजलासमा कार्यरत बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा सिफारिस गरिएको हो । सिफारिसअनुसार प्रधानन्यायाधीशले उनलाई नियुक्ति गर्नेछन् ।
न्याय परिषद्ले देशभरका रिक्त ३५ जिल्ला न्यायाधीश सिफारिस पनि गरेको छ । न्याय परिषद्को हिजो बसेको बैठकले न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट ६ जना र कानुन सेवाबाट ४ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो ।
उच्च अदालत र सर्वोच्च अदालतमा पनि न्यायाधीश रिक्त रहेका छन् । उच्च अदालतमा १० र सर्वोच्च अदालतका ४ जनाको पद रिक्त रहेकोमा परिषदले जिल्ला अदालतबाट नियुक्ति प्रक्रिया शुरु गरेको हो ।
यस्तै न्याय परिषद्ले २१ जिल्ला न्यायाधीशको सरुवा पनि गरेको छ ।
२६ साउन २०८१, शनिवार ०८:१३ बजे प्रकाशित































