धनगढी एयरपोर्टमा मुख्यमन्त्री कार्यालयका उपसचिव आचार्यले देखाए ताण्डव

धनगढी । मादक पदार्थ सेवन(मापसे) गरेर कर्णाली  प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव दिपककुमार आचार्यले धनगढी विमानस्थलमा अमिल्दो हर्कत देखाएका छन् ।

बुद्व एयरलाइन्सकाे दिउँसो २ :५५ को फ्लाइटमा काठमाडौँ जान धनगढी विमानस्थल कार्यालय पुगेका आचार्यलाई अत्यधिक मदिरा सेवन गरेको भन्दै एयरलाइन्सले बोर्डिङ पास नदिएर फर्काएको थियो ।
एयरलाइन्सले आचार्यलाई मदिराको नसा उत्रिएपछि साँझ ५ः५५ को फ्लाइटमा सिफ्ट गरेर फर्काएको थियो ।

एयरलाइन्सले फर्काएको झोकमा मदिराको तालमा आचार्यले विमानस्थलबाटै टेलिफोन गरि कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई अश्लिल शब्द प्रयोग गर्दै धम्क्याएका थिए ।

मुख्यमन्त्री कार्यालयको हुर्मत लिएर तथानाम आरोप लगाउँदै प्रजिअ मिश्रलाई धम्क्याएपछि उनले आचार्यलाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएका थिए । प्रहरीले मदिराको तालमा भेटाएपछि उनले आफूबाट गल्ती भएको भन्दै माफी मागेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले बताए ।

प्रमुख जिल्ला अधिकारीसँगै माफी मागेपछि आचार्यलाई सम्झाईबुझाई छाडिएको एसपी बिष्टले बताए । मदिरा सेवन गरेर विमानस्थलमा ताण्डव देखाउँदै प्रमुख जिल्ला अधिकारीलाई धम्क्याउने आचार्यसँग यो विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा उनले फोन नउठाएर काटिदिए ।

अचार्य यसअघि कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएका बेला समेत विवादमा आउने गरेका थिए ।

 


२५ साउन २०८१, शुक्रवार १९:११ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु