सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदैछ ।

नयाँ गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस र नेकपा एमालेका बहुमत प्रदेश सभा सदस्यहरुले प्रदेश सभाको विशेष अधिवेशन माग गरेका थिए ।

प्रदेश प्रमुखको आह्वानअनुसार मंगलबार दिउँसो २ बजे विशेष अधिवेशनको पहिलो बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सचिवालयका सचिव देवबहादुर बोगटीले बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची तय गरिएको बताए ।

संघमा राजनीतिक समीकरण फेरिएर कांग्रेस–एमालेको गठबन्धन बनेपछि सुदूरपश्चिममा असार २० गते एमाले मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारबाट बाहिरिएको थियो । एमाले बाहिरिएसँगै अल्पमतमा परेका सोडारीले चालु आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट प्रदेश सभाबाट पारित गराउन नसकेपछि बजेट शून्यतामा गएको छ ।

सरकारले असार २९ गते प्रदेश सभाको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । तर प्रदेश प्रमुखले पाँच दिनपछि साउन ३ गते अधिवेशन आह्वान सम्बन्धी सिफारिस कार्यान्वन गरेका थिए भने भोलिपल्ट नै विशेष अधिवेशन आह्वान गरेका थिए । प्रदेश प्रमुखले चालेको यो कदमले अध्यायदेशबाट बजेट ल्याउने मुख्यमन्त्री सोडारीको तयारीमा ब्रेक लागेको छ ।


८ साउन २०८१, मंगलवार ११:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु