दोधारा चाँदनीमा हालसम्मकै सबैभन्दा बढी वर्षा, ५ सय ७३ मिलिमिटर वर्षा मापन
धनगढी । जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले वर्षा मापन भएको कञ्चनपुरको दोधार चाँदनीमा यसवर्ष सबैभन्दा बढी वर्षा मापन भएको जनाएको छ ।
महाकाली नदीपारीको दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा मापन भएको छ ।
कार्यालयका प्रमुख सञ्जय साहका अनुसार दोधारा चाँदनीमा यतिधेरै वर्षा मापन भएको नेपालको इतिहासमै सबैभन्दा बढी हो । यसअघि विगतका वर्षमा हेटौँडामा पाँचसय १६ मिलिमिटर वर्षाको मापन गरिएको थियो । । अति भारी वर्षापछ दोधारा चाँदनी र आसपासका क्षेत्रमा डुबान भएको छ ।
धनगढीमा गएको १२ घण्टामा एकसय ८४ दशमलव सात मिलिमिटर वर्षा मापन भएको छ । अझै पनि भारी वर्षा हुने पूर्वानुमान गरिएकाले उच्च सतर्कता अपनाउन साहले आग्रह गर्नुभयो । दुई सय मिमिभन्दा बढी वर्षा हुनुलाई अति भारी वर्षा भएको मानिन्छ ।
अविरल वर्षासँगै महाकाली, कर्णाली, ठूलीगाड, मोहना, खुटिया, कान्द्रा, घुरुवा, कटैनी, स्याली, दोदा, चौदरलगायतका नदी र खोलामा जलसतह बढेको छ । वर्षासँगै कैलाली र कञ्चनपुरका होचो भूभागमा रहेका बस्ती डुवानमा परेपछि धेरै परिवार विस्थापित भएका छन् ।
डुबानमा परेको कैलालीको भजनी, जानकीनगर क्षेत्रका बासिन्दा अग्लो स्थानमा रहेको हुलाकी राजमार्ग खण्डमा बसेका छन् । कैलालीको कटैनी नदीमा जडान भएको पूर्वा सूचना दिन यन्त्र गए रातिको बाढीले बगाएको छ ।
अविरल वर्षासँगै कैलाली र कञ्चनपुरका विभिन्न नदी र खोलाको जल सतह बढेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले सूचना गरेको छ ।
२४ असार २०८१, सोमवार ११:२६ बजे प्रकाशित