आर्थिक अभावमा उपचारमा समस्या, सहयोगको अपिल
धनगढी । भिरबाट लडेर गम्भीर घाइते भएका अछामको चौरपार्टी गाउँपालिका–१ सिउँडी मटेनाका बलबहादुर साउँदको आर्थिक अभावमा उपचारमा समस्या भएको छ ।
यही असार ११ गते नजिकैको वनमा खोटो संकलनका क्रममा लडेर गम्भीर घाइते भई बेहोस् अवस्थामा रहेका साउँदको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
टाउकोमा गम्भीर चोट लागेका उनको अहिलेसम्म पनि होस् आएको छैन । हालसम्म आइसियुमै राखिएका उनको आर्थिक अभावमा उपचारमा समस्या भएको भन्दै परिवारले सहयोगको अपिल गरेका छन् ।
परिवारका अनुसार उपचारमा दुई लाख रुपैयाँ भन्दा बढी खर्च भइसक्दा पनि उनको होस् आउन सकेको छैन । डाक्टरको सल्लाह अनुसार उनको उपचारको लागि करिब पाँच लाख भन्दा बढी खर्च लाग्ने अनुमान छ ।
पारिवारिक अवस्था कमजोर भएका कारण उनको उपचारमा समस्या आएकाले सम्पूर्ण देश विदेशमा रहेका नेपाली दाजु भाईहरुलाई सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।
साथै साउँदको उपचारका लागि चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउँदले पाँच हजार एक सय रुपैयाँ सहयोग गरेका छन् ।
१९ असार २०८१, बुधवार २०:५६ बजे प्रकाशित