श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
दाङ । दाङको देउखुरीमा श्रीमानको कुटपिटबाट घाइते भएकी महिलाको मृत्यु भएको छ।
जिल्लाको गढवा गाउँपालिका –२ पचहिया गाउँका २६ वर्षीय रन्जित चौधरीको कुटपिटबाट घाइते भएकी उनकी २१ वर्षीया श्रीमती कमला चौधरी उपचारको क्रममा मृत्यु भएको हो ।
घरायसी विषयमा विवाद हुँदा जेठ २४ गते राति ९ बजेतिर रन्जितले श्रीमती कमलाको टाउकोमा कराही प्रहार गरेको इलाका प्रहरी कार्यालय गडवाकी प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन्।
कराही प्रहारबाट गम्भीर घाइते भएकी कमलालाई उद्धार गरी प्रहरीले सोही राति लमही अस्पताल पुर्याएको थियो। तर उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि बुटवलको क्रिमसन हस्पिटल पुर्याइएको थियो । उनको त्यही अस्प्तालमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।
उनका श्रीमान रञ्जितलाई पक्राउ गरी प्रहरीले हिरासतमा थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
२८ जेठ २०८१, सोमवार ०९:०३ बजे प्रकाशित












