punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेवा विस्तार गर्दै सेती प्रादेशिक अस्पताल

Chaupati
safha napa
कैलाली । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सेवा विस्तारमा जोड दिँदै गएको छ । सुदूरपश्चिम प्रदेशको एकमात्र रेफरल अस्पतालका रुपमा रहेको यस अस्पतालले सेवा प्रभावकारी बनाउनुका साथै सेवा विस्तारमा जोड दिँदै गएको हो ।
सङ्घीयतापछि अञ्चल अस्पतालबाट प्रादेशिक अस्पताल बनेको सो अस्पतालले एकपछि अर्को विभिन्न उपकरण थप्दै गएको छ । सेवा विस्तारमा जोड दिँदै आएको सेती अस्पतालले एमआरआई सेवा सुरु गरेको छ ।
सरकारी अस्पतालमा एमआरआई सेवा नहुँदा बिरामीले चर्को शुल्क तिरेर निजी अस्पतालमा एमआरआई गर्नुपर्ने बाध्यता थियो । अस्पतालले एमआरआई मेसिन खरिद गरेर सेवा सुरु गरेसँगै चर्को शुल्क तिरेर एमआरआई गर्नुपर्ने बाध्यता हट्ने भएको छ ।
“हामीले हिजोदेखि पूर्णरुपमा एमआरआई सेवा सुरु गरेका छौँ, यसअघि परीक्षणका रुपमा थियो”, सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा शेरबहादुर कमरले भन्नुभयो, “यसबाट धेरै बिरामी लाभान्वित हुने छन्, शुल्क पनि बाहिरको भन्दा भण्डै ५० देखि ६० प्रतिशत कम छ, स्वास्थ्य बीमा गराएकाले एमआरआई गर्नु परे छुट्टै शुल्क बुभाउनु पर्दैन ।”
एमआरआई मानिसको अङ्ग र तन्तुको सामान्य अवस्थाको बनावटमा खराबी हुँदा कस्तो हुन्छ भन्ने पत्ता लगाउने पछिल्लो प्रविधि हो । उहाँले भन्नुभयो, “यसबाट शरीरमा लागेको चोटपटक, क्यान्सर, स्नायु, टाउकोलगायतका विभिन्न अङ्ग र तन्तुको अवस्था पत्ता लगाउन सजिलो हुन्छ ।” सङ्घ र प्रदेश सरकारको भण्डै रु १६ करोड लागतमा एमआरआई मेसिन खरिद गरिएको उहाँको भनाइ छ ।
सेती अस्पतालमा सिटिस्क्यान सेवा पनि सञ्चालनमा रहेको छ । “सिटिस्क्यान सुरु भएको डेढ वर्ष भयो, अहिलेसम्म आठ हजार बिरामीको सिटिस्क्यान गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “दैनिक २० देखि ४० जनाको हाराहारीमा सिटिस्क्यान हुन्छ, यसमा पनि बाहिरकोभन्दा ४० देखि ६० प्रतिशत कम शुल्क लिने गरेका छौँ ।”
सरकारीतर्फ ५० र विकास समितितर्फ ७५ शय्या गरी एक सय २५ शय्याको स्वीकृति भए पनि बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालमा हाल तीन सय शय्या सञ्चालन भइरहेको उहाँले बताउनुभयो । त्यस्तै हाल अस्पतालमा २० मेसिनबाट डायलासिस सेवा दिँदै आएको जनाउँदै डा कमरले भन्नुभयो, “हाल दैनिक ४० देखि ५० जनाले डायलासिस सेवा लिनुहुन्छ ।”
सेवा विस्तारसँगै अस्पतालको स्तरवृद्धि प्राथमिकतामा रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “अब यस अस्पतालको स्तरवृद्धिलाई प्राथमिकतामा राखेका छौँ, यसलाई तीन सय शय्यामा स्तरोन्नतिका लागि पहल गरिरहेका छौँ ।” सेवालाई अझै सुधार गर्दै लैजानुका साथै व्यवस्थित बनाउँदै लैजाने योजना रहेको उहाँको भनाइ छ ।

१४ जेठ २०८१, सोमवार १२:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु