एक खेल अगावै नेपालले जित्यो सिरिज

काठमाडौं । विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोजविरुद्ध लगातार दोस्रो जित दर्ता गर्दै सिरिज जितेको छ ।

पार्क हिल मैदानमा भएको दोस्रो खेलमा नेपालले विनवार्ड्स भोलक्यानोजलाई ४९ रनले पराजित गर्दै सिरिज आफ्नो पक्षमा पारेको हो ।

नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको घरेलु टोली १८.४ ओभरमा १३० रनमा समेटियो ।

नेपालको जितमा कुशल भुर्तेलले ३ ओभरमा १२ रन खर्चिदै ३ विकेट लिए भने गुलशन झाले पनि ३ ओभरमा १८ रन दिँदै ३ विकेट नै लिए । सोमपाल कामी, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको थियो ।

नेपालका लागि अनिल साहले विष्फोटक इनिङ खेल्दै २७ बलमा ४ चौका र ४ छक्का सहित ५० रन बनाए । यस्तै कप्तान रोहित पौडेलले ३३ बलमा ४१ रन जोडे । पहिलो ओभरमा नै ओपनर आशिफ शेखलाई शून्यमा गुमाएको नेपालमा लागि कुशल भुर्तेल र अनिल साहले राम्रो साझेदारी गरेका थिए ।

कुशलले १० ओभरमा आउट हुँदासम्म ३८ रन जोडेका थिए । दीपेन्द्र सिंह ऐरीले २६ रन बनाए । प्रतिश जिसीले ६ रन बनाउँदा सन्दिप जोराले २ र गुलशन झा १ रन बनाएर आउट भए ।

सोमपाल कामी ३ रनमा र अविनाश बोहरा शून्यमा नटआउट रहे । नेपालले आजकै प्रतिद्वन्दी विरुद्ध पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।


४ जेठ २०८१, शुक्रवार ०८:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु