भीमदत्त नगरपालीकाका तत्कालिन हाकिम भट्ट पनि धरौटीमा रिहा
कञ्चनपुरको भीमदत्त नगरपालीकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट धरौटीमा रिहा भएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा दायर गरेको मुद्दामा भएको थुनछेक बहसपछि २ लाख धरौटी बुझाएर तारेखामा छुटेका छन् । विशेष अदालतले बिहीबार भट्टबाट २ लाख रुपैयाँ धरौटी लिई तारेखमा छोडेको हो ।
महाकाली नदीको रोयल्टीमा छुट दिएर राजश्व हिनामिना गरी गैरकानुनी लाभ लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १० असारमा विशेष अदालतमा दायर गरेको मुद्दाको थुनछेक बहसपछि भट्टलाई धरौटीमा छोडिएको हो । विशेष अदालतका न्यायाधीद्वय श्रीकान्त पौडेल र बलभद्र बास्तोलाको इजलासले भट्टबाट धरौटी लिएर तारेखमा राख्न आदेश दिएपछि बिहीबार नै धरौटी राखेर उनी छुटेको विशेष अदालतका सूचना अधिकारी धनबहादुर कार्कीले जानकारी दिएका छन् ।
भट्टसमेतले महाकाली नदीको आर्थिक वर्ष २०७७/०७८ को रोयल्टीमा गैरकानुनी छुट दिँदा भएको राजश्व हिनामिनावापत अख्तियारले ३ करोड ३३ लाख २२ हजार रुपैयाँ बिगो, बिगोको दोब्बर जरिवाना र कैद सजायको माग गर्दै अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
यसअघि सोमबार अदालतले सोही मुद्दाका अर्का प्रतिवादी भीमदत्तनगरपालिकाका निवर्तमान नगर प्रमुख सुरेन्द्रबहादुर विष्टबाट ५ लाख धरौटी लिई तारेखमा राखेको थियो ।आयोगले १० असारमा पूर्व नगरप्रमुख विष्ट, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
८ भदौ २०८०, शुक्रवार १६:०३ बजे प्रकाशित































