संघीय सरकारका भौतिक पूर्वाधार मन्त्री ज्वाला र सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री शाहबिच भेटवार्ता

धनगढी । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कलमबहादुर शाहबिच भेटवार्ता भएको छ। उहाँहरूबिच मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शनिवार भेटवार्ता भएको मुख्यमन्त्रीको निजी सचिवालयले जानकारी दिएको हो ।

सचिवालयका अनुसार भेटमा मुख्यमन्त्री शाह र मन्त्री ज्वालाबिच सेती लोकमार्ग, दोधारा–चाँदनी सुख्खा बन्दरगाह, भीमदत्त राजमार्ग, दैजी–जोगबुढा सडक, महाकाली कोरिडोर, खुटिया–दीपायल द्रुतमार्ग , कर्णाली कोरिडोर, सत्ती–चिसापानी–ताम्चा सडक निर्माणका लागि बजेट वृद्धि र चाँडै काम सम्पन्न गर्नुपर्ने विषयमा छलफल भएको छ ।

त्यस्तै भेटमा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका बाढी, पहिरो प्रभावितलाई राहत प्रदान र समस्या समाधानका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताएका छन।

उनले संघ, प्रदेश र स्थानीय सरकारबिच सहमति, सहकार्य र समन्वयका आधारमा यातायात र सडक पूर्वाधारको दिगो विकास हुनुपर्नेमा जोड दिएका छन्।

भेटवार्तामा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, आर्थिक मामिलामन्त्री नरेशकुमार शाही, सामाजिक विकास मन्त्री झपट साउँद र संघीय मन्त्रालयका सचिवसमेतको उपस्थिति थियो।

मन्त्री ज्वालासहितको सरकारी टोलीले शुक्रवार कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा पहिरोका कारण भासिएको भीमदत्त राजमार्गको समेत अवलोकन गरेको थियो।

धनगढी–सहजपुर–बुडर–स्याउले–सतबाँझ–थाकतेली–दार्चुला–टिङ्कर जोड्ने राष्ट्रिय राजमार्ग एनएस–६६ (भीमदत्त राजमार्ग) मा साउन २१ गते राती परेको अविरल वर्षाका कारण खसेको पहिरोले अवरुद्ध बनेको थियो ।

अद्यपी : अहिले सडक एकतर्फी रुपमा संचालनमा आइसकेको छ । सडक पुर्णरुपमा संचालनमा आउन अझै केही समय लाग्ने सडक डिभिजन कार्यालय कंचनपुरले जनाएको छ ।


३ भदौ २०८०, आइतवार ०९:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु